आइएनजिओको प्रतिनिधि स्वास्थ्य बीमा बोर्डको सदस्य

बिहिबार, १ असोज, २०७७
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलोपटक सरकारी नियुक्तिमा आइएनजिओको प्रतिनिधि राखेको छ । सरकारको प्रमुख प्राथमिकतामा परेको स्वास्थ्य बीमा बोर्डको कार्यकारिणी समितिमा बेलायती गैरसरकारी संस्था अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट (ओपीएम) नेपालका कन्ट्री डाइरेक्टर डा. सुरेश तिवारीलाई सदस्यमा नियुक्त गरेको हो ।स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, सचिव लक्ष्मण अर्यालको उपस्थितिमा विहीबार तिवारीलाई पद तथा गोपनियताको सपथ खुवाइएको छ ।

स्वास्थ्य बीमामार्फत नेपाली जनतालाई सस्तो र सहज रुपमा सेवा उपलब्ध गराउने योजना अनुसार सो कार्यक्रम लागु भएको हो । स्रोतका अनुसार तिवारी पछिल्लो समय स्वास्थ्य मन्त्रालयले निर्माण गर्ने नीति नियममा पनि प्रत्यक्ष पहुँच राख्दै आएका छन् । स्वास्थ्यमन्त्री ढकालले मन्त्रालयका सहसचिवलाई महिनौदेखि जिम्मेवारीविहीन बनाएर गैरसरकारी संस्थाका व्यक्तिलाई महत्वपूर्ण नीति निमार्णको जिम्मा दिँदै आएका थिए । ओपीएमले गरिब तथा विकासोन्मुख देशहरुको नीतिगत तहमा प्रत्यक्ष प्रभाव पारेर काम गर्ने गर्छ । 

गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहीता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच सुनिश्चित गर्नेगरी बीमा कार्यक्रम लागु गरिएको हो । 

डा. तिवारीसँगै स्वास्थ्य बीमा बोर्डको सदस्यमा चन्द्र थापा पनि नियुक्त भएका छन् । उनी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका भाइ हुन् । यसअघि सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको थियो । स्वास्थ्य बीमा बोर्डका पदाधिकारीको कार्यकाल चार वर्षको हुनेछ । स्वास्थ्य बीमा ऐन ०७४ मा सम्बन्धित विषयमा पाँच वर्षको अनुभव प्राप्त गरेका व्यक्तिहरुमध्येबाट कम्तिमा दुई जना महिलासहित तीन जना र बीमितमध्येबाट एक जना महिलासहित दुई जना मनोनित गर्ने व्यवस्था छ ।

संक्रमित उच्च, परीक्षण न्यून
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुँदा परीक्षण भने न्युन गर्न थालेको छ । परीक्षण राज्यले धान्न नसक्ने बताउँदै आएको मन्त्रालयले जनताले अनुभुती नगर्ने हिसाबमा परीक्षण दर घटाउँदै लगेको पाइएको छ । 

बुधबार मात्रै  एक हजार पाँच सय ३९ जना नयाँ संक्रमित पुष्टि भएका छन् । यो संख्या हालसम्मकै सर्वाधिक हो । पछिल्लो २४ घण्टामा आठजनाको मृत्यु भएको छ । मृत्युको संख्या बढ्दै जान थालेपछि मन्त्रालयले मृत्युपछि कोरोना परीक्षण नगर्ने नीति लिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार साँझ देशभर संक्रमित हुनेको संख्या ५८ हजार तीन सय २७ पुगेको छ । तर, धेरै निको भएकाले अब १६ हजार दुई सय ४२ जना मात्रै संक्रमित छन् । हालसम्म तीन सय ७९ जनाको मृत्यु भएको छ । 

सुझावित समाचार