शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले भारतले अतिक्रमण गरेका लिपुलेक–कालापानी–लिम्पियाधुरासहितको नेपालको भूभाग समेटिएको नक्सा तथा जानकारी समेटेर पुस्तक तयार गरेको छ । कक्षा ९–१२ का विद्यार्थीलाई सन्दर्भ सामग्रीका रूपमा केन्द्रले पुस्तक तयार गरेको हो ।
विद्यार्थीले नेपालको एकीकरण र घटनाक्रमबारे जानकारी पाउन र उचित दृष्टिकोणको विकास गर्ने अभिप्रायले यो पुस्तिकाको विकास गरिएको केन्द्रका महानिर्देशक केशव दाहालले बताए । नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय पुस्तिकाको संक्षिप्त जानकारी समेटिएको पुस्तक मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक गरे ।
पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहका विद्यार्थीलाई नेपालको भूभाग र सिमानासम्बन्धी जानकारी दिने उद्देश्यले यससम्बन्धी स्वाध्याय सामग्रीको विकास गरेको छ । गत २ नोभेम्बर, २०१९ मा भारतले एकतर्फी रूपमा जारी गरेको नक्सामा लिपुलेक–कालापानी–लिम्पियाधुरासहितको नेपालको भूभागलाई भारतीय क्षेत्रमा देखाएको र भूभागमा सडकसमेत बनाएको घटनाक्रम बाहिर आएपछिको नेपालले विरोध गरेको थियो । विद्यार्थी तथा आमजनसमुदायमा नेपालको सीमासम्बन्धी वास्तविक अवस्थाको जानकारी गराउन यो पुस्तकको विकास गरेको शिक्षामन्त्री पोखरेलले बताए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री माननीय गिरिराजमणि पोखरेलको अध्यक्षतामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, नापी विभागका महानिर्देशक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, विभागीय निकायका प्रमुख, सीमाविज्ञ, विश्वविद्यालयका भूगोलविद्लगायतको सहभागितामा बैठक बसी सम्बन्धित विज्ञहरूबाट सुझाब लिइएको थियो ।
१९ असार ०७७ मा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदबाट विद्यालय तहमा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्ने गरी स्वीकृत दिएको थियो । आफ्नो राष्ट्र, राष्ट्रियता र भौगोलिक अखण्डताको संरक्षणका लागि विद्यार्थीका साथै आमजनतामा सचेतता र संवेदनशीलताको विकास हुने अपेक्षा छ ।
भूपरिवेष्ठित अवस्थिति र संवेदनशील भूराजनीतिक अवस्थामा रहेको नेपालको सिमाना जोडिएका छिमेकी मुलुकहरूसँग वेलावेलामा देखापर्ने गरेका र भविष्यमा समेत सिर्जना हुन सक्ने सीमासम्बन्धी विवादहरूको जानकारी राख्ने, विवादका कारणहरू पहिल्याउने, विवाद समाधानका तरिकाहरूको पहिचान गर्ने, यससम्बन्धी संवेदनशीलता र उचित दृष्टिकोणको विकास गर्ने अभिप्रायले यो पुस्तिकाको विकास गरिएको हो ।
पुस्तकमा नेपालको पश्चिम–उत्तर सीमा क्षेत्रका लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका नेपाली भूमिमा भारतले गरेको अतिक्रमण र यससँग सम्बन्धित ऐतिहासिक तथा अन्तर्राष्ट्रिय मान्यताअनुरूपका तथ्य, तथ्यांक र प्रमाणहरू राखिएका छन् । ती भूमिमा भारतबाट गरिँदै आएको अतिक्रमण रोकिनुपर्ने र भारतीय पक्षबाट लामो समयसम्म त्यहाँ रहेका भारतीय सेना फिर्ता हुनुपर्ने विषयलाई विशेष जोड दिइएको छ ।
यस पुस्तिकालाई सामाजिक अध्ययन, इतिहास, भूगोललगायतका विषयको अध्ययन, अध्यापन र सहजीकरणका सिलसिलामा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गरिनेछ । यस पुस्तिकाको प्रयोगबाट विशेषगरी माध्यमिक तहका विद्यार्थीलाई नेपालको निर्माण र एकीकरण, सिमाना जोडिएका छिमेकी मुलुकहरूसँगको सम्बन्ध, नेपालको सिमाना र सिमानासम्बन्धी विवाद रहेका स्थानहरू र विवाद समाधानका उपायहरूका सम्बन्धमा जानकारी हुनेछ । त्यसैगरी सिमानाको संरक्षण र व्यवस्थापन गर्ने एवम् राष्ट्रको भौगोलिक अखण्डतालाई जोगाउन आवश्यक ज्ञान, सीप र धारणाको विकास गर्नसहयोग गर्ने अपेक्षा गरिएको छ ।
यस्ता छन् मुख्य विषयवस्तु
- नेपालको प्राचीन, मध्यकालीनलगायत सन् १८१६ मा भएको सुगौली सन्धिसम्मको नेपालको सिमाना र क्षेत्रफलको विस्तार र संकुचनको ऐतिहासिक सन्दर्भ
- अन्तर्राष्ट्रिय सीमाको अवधारणा, सिद्धान्त, नदी सीमामा उदगम स्थलको पहिचान, सीमाविवाद, सीमाविवाद हुने कारण र समाधानका उपायहरूको छोटो जानकारी
- नेपालको सीमा निर्धारण, छिमेकी मुलुकहरू चीन र भारतसँगको सीमा–सम्बन्ध, सीमा विवाद र समाधानका प्रयासहरू
- नेपाल र भारतबीचको सीमा विवाद रहेका विशेषगरी पश्चिमोत्तर सीमा क्षेत्रका भारतद्वारा अतिक्रमित नेपालका लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रको सीमा विवादका कारण, समाधान र यससँग सम्बन्धित ऐतिहासिक, प्रशासनिक र भूराजनीतिक प्रमाणहरू
- नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुस्ता क्षेत्रको अतिक्रमणसम्बन्धी छोटो जानकारी
- नेपालको अद्यावधिक नक्सा निर्माण अभ्यास र नक्साको परिचय र प्रयोगसम्बन्धी विषयवस्तु
- यस सामग्रीको प्रयोग र कक्षाभित्र र बाहिर गरिने क्रियाकलापहरूसम्बन्धी शिक्षकका लागि केही निर्देशन
- सुगौली सन्धिलगायत नेपालको सीमासम्बन्धी विभिन्न सन्धि–सम्झौताहरूको सूची