हरेक राजनीतिक व्यवस्थाले आगामी पुस्ताको प्रेरणाका निम्ति आफ्ना वैचारिकता तथा संघर्षका ऐतिहासिक अगुवालाई प्रतीकका रूपमा प्रचारित गर्ने गर्छ । राणातन्त्रले जंगबहादुरलाई र ०१७ सालमा पञ्चायती राजतन्त्रले राजा पृथ्वीनारायण शाहलाई आधुनिक नेपालको निर्माताका रूपमा अघि सारेको थियो । ००७ सालमा राणाशासनबाट मुक्त भएर स्थापित शाहवंशी राजासहितको संसदीय प्रजातन्त्रमा राजा त्रिभुवन राष्ट्रपिताका रूपमा स्थापित भए भने ०४७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा स्थापित बहुदलीय राजतन्त्रात्मक प्रजातन्त्रले बिपी कोइरालालाई वैचारिक प्रतीकका रूपमा अगाडि बढायो ।
०३६/०३७ को जनमत संग्रहका वेला बिपी कोइरालाले ‘राजा र मेरो घाँटी एउटै छ’ भन्ने प्रसिद्ध भनाइसँगै नेपालमा ‘बहुदलीय राजतन्त्रात्मक प्रजातन्त्र’को स्थापना सम्भव भएको हो र यो व्यवस्था सर्वोत्तम हो भन्ने प्रचारित गर्न नै यसो भनिएको हो । नेपाली इतिहासका ती सबै व्यवस्थासँग सम्बन्धविच्छेद गरेर स्थापित वर्तमान गणतन्त्रका सञ्चालकले यसका निम्ति सुरुदेखिको संघर्ष र यसका अगुवालाई प्रेरक व्यक्तित्वको रूपमा अगाडि सार्न सक्नुपथ्र्यो । अफसोस, वर्तमानमा गणतन्त्रका सञ्चालक तिनै पुराना प्रतीकहरूको आघोषमा समाहित हुन पुगेका छन् ।
राणाविरुद्धको संघर्षमा पहिलो अगुवा पार्टी प्रजापरिषद्का प्रारम्भिक दस्ताबेजहरू गणतन्त्रात्मक पाइन्छन् । त्यसरी नै आफूलाई प्रजातान्त्रिक समाजवादी भन्ने नेपाली कांग्रेसभित्रको एउटा हिस्सा, ०१७ सालमा राजा महेन्द्रले निर्वाचित संसद् बर्खास्त गरेर निरंकुश पञ्चायती राजतन्त्रको स्थापना गरेपछि, गणतन्त्रको पक्षमा देखिएको थियो । ०१८ सालमा जनकपुरमा राजा महेन्द्रमाथि सहिद दुर्गानन्दले बम प्रहार गर्नु यसैको परिणाम थियो ।
नेकाको गणतन्त्रप्रतिको यो अडान भने अस्थायी थियो । बिपीले राजाविनाको गणतन्त्रभन्दा राजासहितको प्रजातन्त्रलाई नै प्रोत्साहित गरे र समयसँगै ०६२/६३ मा राजतन्त्रको समाप्तिसम्म नेकाभित्र गणतन्त्र प्र्रतिबन्धित विचारजस्तै थियो । नेकाभित्र तरुणका ०२८/२९ सालतिरका अंकमा राजतन्त्रलाई प्रतिक्रियावादी, राजासहितको प्रजातन्त्रको वकालत गर्नेलाई सुधारवादी र गणतन्त्र समर्थकलाई अग्रगामी र क्रान्तिकारी भनिएको छ ।
नेपाली राजनीतिमा वैयक्तिक रूपमा गणतन्त्रका सबैभन्दा ठूला व्यक्ति रामराजाप्रसाद सिंहले ०२८ सालमा कोटाबाट तत्कालीन राष्ट्रिय पञ्चायतको निर्वाचन जित्दा सुश्री शैलजा आचार्य सम्पादक रहेको तरुण पत्रिकाले उनलाई राष्ट्रिय एकताका प्रतीक भनेर बधाई दिएको थियो ।
तरुण पत्रिकाले लेखेको थियो, ‘हामी काठमाडौंका बुद्धिजीवीलाई पनि स्याबासी भन्छौँ, जसले आफ्नो भोटद्वारा तराईको एउटा व्यक्तिलाई जिताएर राष्ट्रिय एकतालाई छिन्नभिन्न पार्ने तानाशाहीको प्रयत्नलाई हाँक दिएको छ । स्याबास बहादुर तराईवासी रामराजा, जसले तानाशाहको दुर्गभित्रै उसलाई हाँक दियो । यस दृष्टिबाट रामराजाको चुनावले नेपालको राष्ट्रिय पक्ष सबल भएको छ । उनको भोट राष्ट्रियताको भोट हो । वर्तमान व्यवस्थाले नेवार–पर्वते, मधिसे–पहाडी, लिम्बु–अलिम्बु, तागाधारी–मतवाली आदि–आदि जातीय भावनागत वैमनस्यको सूत्रपात गराएको छ ।’
यही नेपाली कांग्रेस नै थियो, जसले गणतन्त्रको पहिलो राष्ट्रपतिका रूपमा उम्मेदवार बनेका रामराजाप्रसाद सिंहविरुद्ध आफ्नो ‘लो प्रोफाइल’ कार्यकर्ता र सांसद रामवरण यादवलाई खडा गर्यो । विडम्बना के छ भने त्यतिवेला तत्कालीन नेकपा (एमाले) तथा आफूलाई मधेसी राजनीतिको उपज मान्ने उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमसमेत सिंहको विपक्षमा नेका उम्मेदवारको पक्षमा नै खडा भएको थियो ।
उल्लेखनीय छ, सिंहलाई उम्मेदवार बनाउन माओवादी र फोरमबीच सम्झौता भएको थियो । यस प्रकरणमा नेपालस्थित भारतीय दूतावासको सक्रियता त्यतिवेला चर्चाको विषय बनेको थियो । नेका समर्थित उम्मेदवारलाई भोट दिने निर्णयलाई खुला घात भन्दै तत्कालीन फोरमका एक केन्द्रीय सदस्य जयप्रकाश गुप्ताले नोट अफ डिसेन्ट नै लेखेका थिए । उनको आह्वानमा विजयकुमार गच्छदारसहित फोरमका १७ जना सदस्यले क्रस भोटिङ गरेका थिए । सिंहको पराजय निश्चित थियो र त्यही भयो ।
सिंह वि.सं.०२० मा दिल्लीको विश्वविद्यायलबाट कानुनमा स्नातकको शिक्षा पूरा गरी नेपाल फर्केर पञ्चायतविरोधी राजनीतिमा सक्रिय थिए । ०२४ सालमा पहिलोपटक उनी राष्ट्रिय पञ्चायतको सदस्य पदका निम्ति स्नातक कोटाबाट उम्मेदवार बने । तर, पञ्चायतविरोधी नाराका कारण तत्कालीन सरकारले उनलाई गिरफ्तार गर्यो । ०२८ सालमा उनले दोस्रोपटक स्नातक कोटाबाट नै उम्मेदवारी दिए र विजयी भए ।
सुरुमा त उनलाई शपथग्रहण गर्नै दिइएन । पछि उनलाई शपथग्रहण गराइयो । तर, लोकतान्त्रिक चेतनाको प्रसारमा देश भ्रमणमा रहेका सिंह विराटनगरबाट फेरि गिरफ्तार भए र दुई वर्षको जेलजीवनपछि ०३२ सालमा रिहा भए । जेलमै बस्दा गणतन्त्रको पक्षमा सशस्त्र आन्दोलन गर्ने मानसिक तयारी गरिसकेका सिंहले ०३६/३७ को जनमत संग्रह कालमा कैदीजीवनका मित्र खेमराज मायालुसँग मिलेर बहुदलीय जनवादी मोर्चाको गठन गरे ।
सिंह कम्युनिस्ट विचारका थिएनन् । उनी राजनीतिक विचारमा नेकानिकटकै लोकतान्त्रिक समाजवादी थिए । तर, आफ्नो गणतान्त्रिक प्रतिबद्धताका कारण नेकानिकट कहिल्यै हुन सकेनन् । उनले आफूहरू पञ्चायती शासकविरुद्ध बम विस्फोट गराएर सशस्त्र आन्दोलनको तयारीमा रहेको जानकारी दिन र सहयोगको अपेक्षा राख्दै बिपी कोइराला र कृष्णप्रसाद भट्टराईलाई भेट्न ०३८ सालमा मोर्चाका उपाध्यक्ष खेमराज मायालुलाई गुप्त रूपमा काठमाडाैं पठाएका थिए । भेटका क्रममा गणतन्त्रको आन्दोलन सफल नहुने भनेर बिपीले सहयोग गर्न अस्वीकार गरे र मायालुलाई तरुण दलमा सामेल हुन आग्रह गरे । उता कृष्णप्रसाद भट्टराईले यस्तो कुरा गर्न हिम्मत कसरी गरेको भनेर बेस्सरी झपारेको कुरा त्यतिवेला आरके शर्माको छद्म नामबाट काठमाडाैं छिरेका खेमराज मायालुले एउटा अन्तर्वार्तामा भनेका थिए ।
०४२ सालमा नेपाली कांग्रेसले राजासहितको बहुदलीय व्यवस्थाका निम्ति काठमाडौंमा धर्ना दिइरहेका वेला धर्नास्थल र सिंहदरबारलगायत देशका विभिन्न भागमा मोर्चाका कार्यकर्ताले बम विस्फोट गराएका थिए । पञ्चायती शासकले यसलाई भारतले गराएको भन्ने हल्ला चलाए भने नेपाली कांग्रेसले आफ्नो धर्ना कार्यक्रम बिथोल्न दरबारले नै बम विस्फोट गराएको आरोप लगायो ।
यस घटनामा एकजना राष्ट्रिय पञ्चायत सदस्यसहित आठजनाको मृत्यु भएको थियो, जसमा एकजना गुरिल्ला कार्यकर्ताको सहादत पनि सामिल छ । विस्फोटको तेस्रो दिन भारतको कलकत्तास्थित बिबिसीको कार्यालयमा गएर सिंहले बहुदलीय जनवादी मोर्चाको संयोजकको हैसियतले यसको जिम्मेवारी लिए । तत्कालीन सरकारले सिंहलगायत उनको पार्टी सदस्यलाई सुट एट साइटको आदेश जारी गर्यो । यो आदेश ०४७ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि नेपाली कांग्रेसको सरकारले खारेज गरेको थियो ।
०४२ सालमा विस्फोट गराएर देशमा पञ्चायतविरोधी शक्तिहरू प्रोत्साहित हुने र सशस्त्र आन्दोलनले समर्थन पाउने सिंहको अपेक्षा पूरा हुन सकेन । बरु नेपाली कांग्रेसले धर्ना कार्यक्रम नै स्थगित गरिदियो । यसै निहुँमा सरकारले देशैभरि मोर्चाका कार्यकर्ताविरुद्ध व्यापक गिरफ्तारी र दमनचक्र चलायो । मोर्चाका पाँचजनाभन्दा बढी कार्यकर्ता र नेताहरू सरकारी हिरासतबाट सदाका निम्ति गायब पारिए ।
यस दमनचक्रको चपेटामा कम्युनिस्ट पनि परे । मृत्युदण्डको सजाय घोषित गरिएका सिंह र मायालुलगायत नेताहरू भूमिगत भएर प्रवासिएपछि नेतृत्वको अभावमा मोर्चाले आफ्नो आन्दोलन अगाडि बढाउन सकेन । तत्कालीन पञ्चायती शासकले ०४२ को बम विस्फोट सिंहले भारतीय गुप्तचर संस्था ‘र’को इसारामा गराएको भनेर फैलाएको भ्रम लामो समयसम्म कायम रह्यो । तर, राजनीतिक घटनाक्रमले सिंहलाई एउटा इमानदार राजनीतिज्ञ नै साबित गरेको छ ।
यद्यपि देशमा बहुदलीय व्यवस्था स्थापनापछि मात्र होइन, गणतन्त्र स्थापनापछि पनि सिंह नेपालको राजनीतिमा उपेक्षित पात्रजस्तै रहे । प्रवासबाट फर्केपछि उनले मोर्चाका तर्फबाट ०५१ सालको मध्यावधि संसदीय निर्वाचनमा भाग लिए । तर, विडम्बना ! उनले जमानत पनि बचाउन सकेनन् । छलछाम, पैसा र गुन्डाको बलमा जितिने निर्वाचनमा गणतान्त्रिक नेताको पराजय आश्चर्यजनक थिएन । उनी हालका नेका उपाध्यक्ष विमलेन्द्र निधिसँग पराजित भएका थिए ।
राज्यको कृतघ्नता नै भन्नुपर्छ कि ऊ पृथ्वी र भानुजस्ता हाल अर्थहीन भइसकेका पुरातन प्रतीकहरूको उत्सव राजकीयस्तरमा मनाउने गर्छ, तर ती महान् सहिद तथा व्यक्तित्वहरू, जसले देशमा गणतन्त्र स्थापनाका निम्ति सर्वस्व अर्पण गरे, उनीहरूलाई उपेक्षाको दृष्टिले हेर्छ
०५२ सालमा माओवादीले जनयुद्ध सुरु गरेपछि उनी माओवादीसँग नजिकिएका थिए । तर, उनी विचारमा आफूलाई लोकतान्त्रिक समाजवादी नै भन्थे । अफसोस, गणतन्त्र स्थापनापछि पनि गणतन्त्रका यी इमानदार नेताले समुचित सम्मान पाएनन् । यद्यपि जनस्तरमा उनको व्यक्तित्वको महानतासँग तुलना गर्ने हाल कोही पनि देखिँदैन । ०६९ भदौ २७ गते ७७ वर्षको उमेरमा स्नायुरोगबाट उनको निधन भयो ।
यसलाई राज्यको कृतघ्नता नै भन्नुपर्छ कि ऊ पृथ्वी र भानुजस्ता हाल अर्थहीन भइसकेका पुरातन प्रतीकहरूको उत्सव राजकीयस्तरमा मनाउने गर्छ, तर ती महान् सहिद तथा महान् व्यक्तित्वहरू, जसले देशमा गणतन्त्र स्थापनाका निम्ति सर्वस्व अर्पण गरे, उनीहरूलाई उपेक्षाको दृष्टिले हेर्छ । नेपालमा कम्युनिस्ट पार्टीको स्थापनाको प्रारम्भिक आधार नयाँ जनवादी राज्य र साम्यवादी विश्वको सैद्धान्तिक लक्ष्यसँगै गणतन्त्रको विचार जोडिनु स्वाभाविक नै हो ।
यद्यपि पार्टी स्थापनाको दोस्रो दशकदेखि नै सुधारवाद र राजशाही ताबेदारीमा रहेको अवसरवादी प्रवृत्तिले नेपाली कम्युनिस्ट आन्दोलनलाई हमेसा विचलित गरिरह्यो । तर, पनि कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी पंक्तिले गणतन्त्रको विचारलाई निरन्तर अगाडि बढाइरह्यो । झापा विद्रोहबाट जन्मेको माले स्कुलका इमानदार क्रान्तिकारी पंक्ति होस् अथवा मसाल, मशाल, चौथो महाधिवेशनदेखि एकता केन्द्र हुँदै जनयुद्धकारी शक्तिमा विकसित नेकपा (माओवादी), गणतन्त्र सम्झौताहीन रूपमा केन्द्रमा रह्यो ।
०६२/६३ मा नेपालमा गणतन्त्र स्थापना भएसम्म नेपाली राजनीतिको एउटा धारा सम्झौताहीन संघर्षमा र यसको समानान्तर एउटा सम्झौतावादी धारा हमेसा कायम रहेको देखिन्छ, जसले हरेकपटक नेपाली समाजको राजनीतिक परिवर्तनको गतिलाई सुस्त पार्छ, पछाडि फर्काउँछ र अन्ततः अग्रगामी शक्तिलाई भ्रमित पार्दै नेतृत्व कब्जा गरेर यथास्थितिमा फर्काउन सफल हुन्छ । यस गणतन्त्रमा पनि यही हुँदै छ ।
गणतन्त्रको संघर्षको इतिहासमा ती सम्झौताहीन संघर्ष गर्ने नायकको गौरवगाथाले मात्र नयाँ पुस्तालाई प्रेरित गर्न सक्छ । राज्य त उदासीन छ नै, राजनीतिक बौद्धिकमा जो वर्तमान सत्ताका विपक्षमा छन्, उनीहरूमा पनि एउटा यान्त्रिकता देखिन्छ । राज्यसत्ताले नगरे पनि आफूलाई प्रगतिशील भन्ने बौद्धिक समुदायले जनस्तरमा जनउत्सवको परम्परा निर्माणमा अग्रसर हुनुपर्छ ।
यस जनउत्सवमा भीमदत्त पन्त, दुर्गानन्द झा, ऋषि देवकोटा ‘आजाद’देखि रामवृक्ष यादवसम्मको गणतान्त्रिक सहिद र सम्झौताहीन संघर्षमा सर्वस्व गुमाएका रामराजाप्रसाद सिंहजस्ता इमानदार गणतान्त्रिक नायकलाई समेट्नुपर्छ । वर्तमान राज्यसत्ताका सरकार र विपक्षबाट आस गर्नु व्यर्थ हुनेछ, किनभने वर्तमान सत्तामुखी राजनीति फासीवादतर्फ उन्मुख छ । यसका निम्ति जनस्तरबाट प्रयास अपेक्षित छ ।
Tweet to @RJanakpuri