लकडाउनमा रोजगारी गुमाउँदाको पीडा : डेरा सार्ने विषयमा विवाद हुँदा कुटपिट गरेर हत्या

सोमबार, २८ भदौ, २०७७
डिजिटल संस्करण
लकडाउनमा रोजगारी गुमाउँदाको पीडा : डेरा सार्ने विषयमा विवाद हुँदा कुटपिट गरेर हत्या

भावविह्वल अवस्थामा मृतक शम्भु चौधरी (महतो)की पत्नी

घरधनीले डेरा सार्न दबाब दिएपछि भारतको मोतिहारी चम्पारण संग्रामपुरका ४२ वर्षीय शम्भु चौधरी (महतो) शुक्रबार बिहानै उठे । परिवारका सदस्यसँगै झिटीगुन्टा कसे । नजिकैको घरमा धमाधम सार्न लागे । 

दराज गह्रौँ भएकाले सार्न बाँकी थियो । सार्न भन्दै अपाह्न १२ बजे कोठा छिर्न लाग्दै थिए । घरधनी ६६ वर्षीय प्रेमकृष्ण महर्जन आँगनमै भेटिए । जम्काभेटसँगै दुवैबीच भनाभन भयो । रिसले चुर भएका प्रेमकृष्ण सरासर घरभित्र छिरे । ढोकामा लगाउने आग्लो झिके । त्यही आग्लो शम्भुको टाउकोमा बजारे । 

चोटका कारण शम्भु त्यहीँ ढले । मुखबाट फिँज निस्कन थाल्यो । घटनास्थल रमितेले क्षणभरमै भरियो । केहीबेरमै पुगेको प्रहरीले अचेत शम्भुलाई भ्यानमा राखेर कीर्तिपुर मोडेल अस्पताल पु¥यायो । तर, अचेत शम्भु फेरि ब्युँझेनन् । दिउँसो २ः१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे । 

घरधनीले भनेअनुसार नै डेरा सार्दा पनि किन कुटपिट गरे भन्ने बुझ्न नसकिएको शम्भुका छोरा १६ वर्षीय राहुलले सुनाए । ‘घरबेटीले डेरा सर्न पटकपटक भनेको थियो । भाडा चुक्ता गरेर हामी शुक्रबार बिहानबाटै सर्न लागेका थियौँ । घरबेटीले किन बुबालाई प्रहार गरे केही बुझ्न सकिएको छैन,’ उनले भने, ‘घरबेटीले हानेको चोटकै कारण बुबाको मृत्यु भयो । अलि चाँडो उद्धार गर्न पाएको भए उहाँ बाँच्नुहुन्थ्यो कि ।’

शम्भु २२ वर्षदेखि नेपाल बस्दै आएका थिए । कीर्तिपुरमा बसेको नै १५ वर्षभन्दा बढी भएको थियो । प्रेमकृष्णको घरमा पनि श्रीमती र तीन छोरासहित १५ महिनादेखि बस्दै आएका थिए । दुईवटा कोठा लिएका उनीहरूले चार हजार भाडा तिर्ने गरेका थिए । केही वर्ष उनी कीर्तिपुर–रत्नपार्कको रुट नम्बर २१ मा चल्ने माइक्रोबसमा सहचालक बसे । कहिले डकर्मी त कहिले तरकारीको व्यापार गर्ने शम्भु लकडाउनपछि भने बेरोजगार थिए । 

त्यसैले लकडाउन भएपछि पाँच महिना भाडा तिर्न उनलाई निकै मुस्किल परेको थियो । जसले गर्दा घरधनीले कोठा सार्न दबाब दिइरहेका थिए । ‘पाँच महिनाको भाडा तिर्न बाँकी थियो । दुई महिनाको छुट दिने भन्यो । तीन महिनाको भाडा भने बुबाले चुक्ता गर्नुभयो,’ राहुलले भने, ‘घरबेटीले डेरा सर्न पटक–पटक भन्दै आएका थिए । त्यसैले शुक्रबार हामी सर्दै थियौँ । उहाँलाई किन रिस उठ्यो, थाहै भएन ।’

अनुसन्धानमा जुटेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले घटनाको अनुसन्धान भइरहेको बताए । ‘घटना सरसर्ती हेर्दा दुईबीच पानीको विषयमा विवाद भएजस्तो देखिन्छ । त्यही विवादपछि प्रेमकृष्ण उत्तेजित बने । ढोकाको आग्लो लिएर शम्भुलाई प्रहार गरे,’ एसपी राठौरले भने, ‘यद्यपि, घटनाको सूक्ष्म अनुसन्धान हुँदै छ । सत्यतथ्य त्यसपछि मात्रै आउला कि !’

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले प्रेमकृष्ण तथा उनका दुई छोरा परमेश्वर र प्रमोदलाई पक्राउ गरेको छ । थप अनुसन्धानका लागि हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्यादसमेत थप भएको छ । 

सुझावित समाचार