सार्क सक्रिय बनाउन नेपालले भूमिका खेलोस् : पाकिस्तानी राजदूत

आइतबार, २८ भदौ, २०७७
डिजिटल संस्करण

नेपालका लागि पाकिस्तानी राजदूत डा. मजर जाभेदले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सक्रिय हुनुपर्ने र यसका लागि अध्यक्ष मुलुक नेपालले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । बिदाइ भेटका क्रममा आइतबार गृहमन्त्री रामबहादुर थापा बादलसँग राजदूत डा. जाभेदले सार्कको सक्रियतामा जोड दिएका हुन् । 

गृहमन्त्रीको सचिवालयका अनुसार गृह मन्त्रालयमा भएको बिदाइ भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा छलफल भएको थियो । गृहमन्त्री थापाले जाभेदलाई  सफल कार्यकालका लागि शुभकामना दिँदै नेपाल पाकिस्तान सम्बन्ध थप मजबुत बनाउन भूमिका खेलेकोमा पनि धन्यवाद दिएका थिए । 

गृहमन्त्री थापाले नेपाल र पाकिस्तानबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिए । पाकिस्तानी सहयोग आगामी दिनमा पनि निरन्तर हुने विश्वास गृहमन्त्रीको थियो। 

राजदूत जावेदले नेपाल–पाकिस्तान सम्बन्धको चर्चा गर्दै आफ्नो नेपाल बसाइ सुखद रहेको बताए । कार्यकालमा नेपाल र नेपालीबाट आफूले राम्रो सहयोग र न्यानो माया पाएको राजदूत जाभेदको भनाइ थियो । आगामी दिनमा नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउँदै लैजान आवश्यक रहेको उनको भनाइ थियो । 

राजदूत जाभेद दक्षिण अफ्रिकाका लागि राजदूतको कार्यभार सम्माल्न जाँदै छन् । नेपालमा सैयद हैदर शाह पाकिस्तानका नयाँ राजदूतका रूपमा आउँदै छन् । उनी हाल भारतका लागि कार्यबाहक उच्चायुक्त छन् । संयोगवश एकै समयमा पाकिस्तान र नेपालले एक–अर्को देशमा नयाँ राजदूत पठाउँदै छन् । 

पाकिस्तानका लागि नेपाली राजदूतका रूपमा तापस अधिकारी सिफारिस भएका छन् । संसदीय सुनुवाइ समितिले उनको नाम पारित गरिसकेको छ भने परराष्ट्र मन्त्रालयले उनको एग्रिमोका लागि पाकिस्तान सरकारलाई चिठी पठाइसकेको छ । 

सुझावित समाचार