लकडाउनमा छोराछोरीको भोक टार्न नसकेपछि अशोक दर्जीले आत्महत्या रोजे

मृत्यु संस्कारका लागि एक माना चामल समेत घरमा थिएन

शनिबार, २७ भदौ, २०७७
डिजिटल संस्करण
लकडाउनमा छोराछोरीको भोक टार्न नसकेपछि अशोक दर्जीले आत्महत्या रोजे

बाबुको काजकिरियामा बसेका अशोक दर्जीका छोराछोरी ।

मोरङको सुन्दरहरैँचा नगरपालिका– १० का ४७ वर्षीय अशोक दर्जीका चार छोराछोरी छन् । जेठी छोरीको विवाह भइसकेकाले उनको साथमा दुई छोरी र एक छोरा थिए । छोराछोरी सानै भएकाले उनीहरूको पालनपोषण अशोकले नै गर्दै आएका थिए । लकडाउनअघिसम्म दैनिक ज्याला–मजदुरी गरेर उनले आफ्ना लालाबालालाई जेनतेन दुई छाक पेटभरि खुवाउँदै आएका थिए । तर, लकडाउनमा उनी बनिबुतो गर्न जान सकेनन् । 

सुकुम्बासी बस्तीमा बस्दै आएका उनले लकडाउनको अवधिमा घरमा भएका भाँडाकुँडा र सरसामग्री बेचेर केही दिन छोराछोरीको पेट भरे । उनले खान बनाउने ग्यास सिलिन्डरसमेत बेचेर छाक टारेको छिमेकी दीपेन जोगीले बताए । अझै पनि ज्याला–मजदुरी गर्ने बाटो नखुलेको र घरमा भएका सरसामान पनि बेचिसकिएकाले उनी निराश बन्ने गरेको जोगीले बताए । यो निराशाले उनलाई मृत्युको बाटो डोहोऱ्याे । आफू र छोराछोरीको भोक देख्न, सहन नसकेर उनले गत मंगलबार (२२ भदौ) मृत्यु रोजे । डोरीमा पासो लगाएको अवस्थामा उनको शव घरैमा  फेला परेको थियो । 

अशोकको मृत्युपछि घर पुग्दा एक माना चामलसमेत घरमा नभएको छिमेकी जोगीले बताए । उनले भने, ‘कात्रो किन्ने पैसा त परै जाओस् संस्कारअनुसार शवलाई घाटसम्म पुऱ्याउनका लागि चाहिने एक माना चामल, धानसमेत थिएन । छरछिमेकीबाट उठाएर शवको व्यवस्थापन गऱ्याैँ ।’ छोराछोरी अहिले बाबुको काजकिरिया गरिरहेका छन् । मृत्यु संस्कारका लागि वडा कार्यालय तथा गाउँलेले चन्दा उठाएर सहयोग गरिरहेको उनले बताए ।

अशोककी श्रीमती दिल्लीमा अलपत्र 
मृतक अशोककी ३८ वर्षीया श्रीमती दिलमाया नेपाली छोराछोरीलाई श्रीमानको जिम्मा लगाएर वैदेशिक रोजगारीका लागि हिँडेकी थिइन् । तर, दलालको चुंगलमा परेर सात महिनादेखि उनी दिल्लीमा अलपत्र परेकी छिन् । कोरोना कहरसँगै दिल्लीमा अलपत्र परेकी उनी अहिलेसम्म घर फर्कन पाएकी छैनन् । राम्रो कमाइ हुने प्रलोभन देखाएर कुवेत लैजाने भन्दै दलालले उनलाई दिल्लीमा पुऱ्याएर अलपत्र पारिदिएका छन् । आमा विदेशमा अलपत्र बाबुको मृत्युपछि १२, १४ र १७ वर्षीया छोराछोरीको बिचल्ली भएको छ । 

वडाध्यक्ष भन्छन् – तीनपटक राहत दिइसक्यौँ 
सुन्दरहरैँचा नगरपालिका– १० का वडाध्यक्ष राजेश थापाले भने मृतक अशोकको परिवारलाई तीनपटक राहत सामग्री दिइसकेको बताए । लकडाउन अवधिमा मात्रै १८ सय परिवारलाई राहत वितरण गरेको उनको भनाइ छ । उनले भने, ‘वडा कार्यालयमा आएर आफ्नो समस्या बताएको भए अशोकले मर्नुपर्ने थिएन । अब छोराछोरीको पठनपाठन र श्रीमतीलाई दिल्लीबाट ल्याउनका लागि पहल गर्छौँ ।’ 

मृतकको एउटै फोटो छैन
मृतक अशोकको एउटा फोटोसमेत फेला परेको छैन । श्रद्धाञ्जली दिनका लागि फोटोसमेत नभएको उनका आफन्तहरू बताउँछन् । सरकारले कोरोनाबाट जनतालाई बचाउन लकडाउन घोषणा गरे पनि जनतालाई विकल्प नदिँदा देशभर विभिन्न समस्या पर्दै आएको छ । संघीय सरकार, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो अनुकूलका लागि लकडाउन गर्न थालेपछि दैनिक ज्यालामजदुरी गर्नेहरू थप समस्यामा परेका छन् । केही स्थानी तहले राहत वितरण गरे, तर त्यो पर्याप्त छैन ।

सुझावित समाचार