निषेधाज्ञाबारे उपत्यकाका तीन सिडिओको तीनथरी धारणा

आइतबार, २१ भदौ, २०७७
डिजिटल संस्करण
निषेधाज्ञाबारे उपत्यकाका तीन सिडिओको तीनथरी धारणा

फोटोः संसद सचिवालय

निषेधाज्ञाको सम्बन्धमा काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) को तीनथरी धारणा आएको छ । संसद्को ‘शिक्षा तथा स्वास्थ्य समिति’अन्तर्गतको उपसमितिको आइतबार बसेको बैठकमा काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओको फरक–फरक धारणा आएको हो ।

कोरोनासम्बन्धी कामकारबाही निगरानी गर्न बनेको शिक्षा समितिअन्तर्गतको उपसमितिले आइतबार तीनै जिल्लाका सिडिओलाई बोलाएर कोरोनाका सम्बन्धमा भइरहेको तयारीबारे जानकारी लिएको थियो । उपसमिति बैठकमा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दशैँसम्म निषेधाज्ञा लम्ब्याउनुपर्ने बताएका थिए । संक्रमणको दर बढिरहेकाले जोखिम कम गर्न दशैँसम्म अहिलेकै अवस्थालाई निरन्तरता दिनुपर्नेमा उनको जोड थियो ।

समितिमा भट्टले भने, ‘हाम्रो अगाडि चाडबाड आइरहेको छ । दशैँजस्तो ठूलो चाड आएको छ । जाडबाड, जात्रा भनेपछि मानिस ज्यान छाड्न पनि तयार हुने रहेछन्, त्यो देखिरहेका छौँ । त्यतिवेला पनि त्यस्तो हुन सक्छ । दशैँसम्म केही फ्लेक्जिबल बनाएर भए पनि अहिलेको अवस्थालाई कायम राख्नुपर्छ । चाडबाडमा मानिसहरूको आवतजावत धेरै हुन्छ । दशैँमा ठूलाबडाको हातको टिको त थाप्नैपर्छ जसरी भएपनि भन्ने हुन्छ । आशीर्वाद लिनुपर्छ भन्ने खालको सेन्टिमेन्टमा अवस्था झनै भयावह हुन सक्छ । त्यसकारण योचाहिँ दशैँसम्म लैजानैपर्छ ।’

तिजजस्ता चाडबाडमा पनि निषेधाज्ञा गरेका कारणले नै कोरोना संक्रमण कम भएको भट्टको भनाइ थियो । ‘कोरोना संक्रमण द्रुत रूपमा बढ्ने हो कि भन्ने अनुमान त थियो । त्यसकारण निषेधाज्ञा गरियो । पुनः अलि खुकुलो बनाइयो । जनजीवनका अप्ठ्यारालाई टोलरेट गरेर भए पनि कोभिडलाई बढ्न दिनुहुँदैन । निषेधाज्ञा गरेपछि कोभिड संक्रमण घट्ला भन्ने पनि थियो, तर त्यस्तो भएन । बढिरहेको अवस्था छ । तर, निषेधाज्ञा नगरेको भए संक्रमितहरू झनै धेरै बढ्न सक्थे,’ उनले भने ।

निषेधाज्ञाका सम्बन्धमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको धारणा भने अलि फरक सुनिन्थ्यो । मानिसहरू रोगले भन्दा भोकले मर्ने स्थिति आइसकेको भन्दै अब ‘लिभिङ विथ कोरोना’बाट अघि बढ्नुपर्ने उनको भनाइ थियो । दाहालले भने, ‘अब लिभिङ विथ कोरोनाअनुसार अघि बढ्नुपर्छ । मानिसहरू रोगले भन्दा भोकले मर्ने वेला आइसक्यो । अब प्रोटोकल बनाउने र मानिसहरू आफू–आफू सुरक्षित रहनुपर्छ । त्यसको विकल्प छैन ।’

फोटोः संसद सचिवालय
निषेधाज्ञामा परेको अप्ठ्यारोबारे दाहालले एक पुरोहितको कहानी नै सुनाए । उनले भने, ‘केही दिनअघि एक पुरोहिततलाई भेटेको थिएँ । पुरोहितले निषेधाज्ञा नै भए पनि आफू जसरी पनि श्राद्ध गर्न निस्कने बताउनुभयो । वर्षभरि खानका लागि अहिले कमाउने समय भएकाले घरभित्रै नबस्ने उहाँको भनाइ थियो । सोह्रश्राद्धमा जसरी पनि श्राद्ध गर्न हिँड्नेमा अडिग हुनुहुन्थ्यो । अब कसरी रोक्ने ! यस्तो भइसकेको छ अवस्था ।’

उपत्यकाका नाकाहरूमा सेना परिचालन गर्नुपर्ने दाहालको भनाइ थियो । प्रहरीले मात्रै सबैथोक गर्न नभ्याउने भएकाले सेनालाई राखिनुपर्नेमा उनले जोड दिएका थिए । ‘नाकाहरूमा सेना राखौँ । प्रहरीले काम गरेन भन्न खोजेको हाेइन, तर उसले सबैथोक गर्नुपरेको छ । जँड्याहालाई उठाउने पनि प्रहरी, नुन चोरदेखि सुन चोरसम्मलाई हेर्ने पनि प्रहरी । प्रहरीलाई भ्याइनभ्याई छ । त्यही भएर सेनालाई राखौँ । यो विषयका हामीले सिसिएमसीलाई पनि सुझाब दिएको थियौँ, तर कार्यान्वयन भइरहेको छैन,’ उनले भने ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञा कडा गर्दा पनि विरोध भएको र खुकुलो पार्दा पनि संक्रमण बढेको भन्दै चिन्ता व्यक्त गरेकी थिइन् । निषेधाज्ञा पालनालाई कडाइ गरेर अप्ठ्यारो परेकाहरूलाई सहजीकरण पनि गरिनुपर्ने बताएकी थिइन् । उनले भनिन्, ‘निषधाज्ञा गर्दा पनि विरोध आउँछ । निषेधाज्ञा नगरौँ, संक्रमण बढ्छ । अब अप्ठ्यारो परेकाहरूलाई सहजीकरण गरिदिने र निषेधाज्ञा उल्लंङन गर्नेलाई कडा कारबाही गर्नुपर्छ । अहिले ११ बजेसम्म खुलाइएको छ । त्यसकारण मानिसहरूको भिडभाड देखिन्छ । यस्तो भिडभाड भयो भने संक्रमण द्रुत गतिमा बढ्छ ।’

क्वारेन्टिन, आइसोलेसनमा बस्नेहरूका निम्ति खाना खर्चको दर रेटमा पुनर्विचार गरिनुपर्ने पनि सिडिओहरूको भनाइ थियो । काठमाडौंका सिडिओ दाहालले भने, ‘खानाका निम्ति १७५ रुपैयाँ छुट्याइन्छ । यतिमा कसरी खाना खुवाउन पुग्छ ? यो दर रेटमा पुर्विचार गर्नुपर्छ । भक्तपुरी सिडिओले पनि १७५ रुपैयाँमा खाना खुवाउन नसकिने भएकाले यसबारेमा सोचविचार गरिनुपर्ने बताएकी थिइन् ।

सुझावित समाचार