राष्ट्रिय राजमार्ग अझै १० ठाउँमा अवरुद्ध, ९१ ठाउँमा एकतर्फी

अहिलेसम्म ३ अर्ब रुपैयाँको क्षति

आइतबार, २१ भदौ, २०७७
डिजिटल संस्करण
राष्ट्रिय राजमार्ग अझै १० ठाउँमा अवरुद्ध, ९१ ठाउँमा एकतर्फी

फाइल फोटो

मनसुनका कारण देशभरका दुई सय २३ ठाउँमा राष्ट्रिय राजमार्ग अवरुद्ध भएको तथ्यांक सडक विभागले सार्वजनिक गरेको छ । त्यसमध्ये १० ठाउँको सडक अझै सुचारु भएको छैन । त्यस्तै, ९१ ठाउँमा भने आंशिक (एकतर्फी सुचारु) र एक सय २२ ठाउँमा भने सामान्य भइसकेको सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले जानकारी दिए । 

राजमार्ग र सडक–पुल भत्कँदा हालसम्म तीन अर्ब रुपैयाँको क्षति भइसकेको विभागको प्रारम्भिक अनुमान छ । सामान्य र उपलब्ध स्रोतले भ्याउने स्थानमा विभाग आफैँले पुनर्निर्माण गर्ने तयारी गरेको छ । तर, ठूलो क्षति भएका ठाउँमा भने पुनर्निर्माणका लागि गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग आग्रह गर्ने विभागले बताएको छ । त्यस्तै, अहिले उद्धार तथा सडक सुचारु गर्नका लागि खटिएको जनशक्ति र हेभी मेसिनलाई दशैँसम्म फिल्डमै खटाइने उपमहानिर्देशक सापकोटाले जानकारी दिए । 

कहाँ अझै सडक अवरुद्ध छ ? 
बर्खामा धेरै प्रभावितमध्येको एक साँफेबगर–मार्तडी सडकको अम्कोट–द्वारीखण्ड अझै अवरुद्ध छ । २५ असारदेखि अवरुद्ध सडक विभागले २५ भदौसम्ममा खुल्ने अनुमान गरेको छ । बुढीगंगा नदीको वहाबले कटान गरेको र पाँच सय मिटर सडक क्षतिग्रस्त भएको थियो । त्यस क्षेत्रमा ठूलो पहिरो गएका कारण तत्काल सुचारु गर्न ढिलाइ भएको हो । 

साँफेबगर–मार्तडी सडककै ताप्रिसेरा, बार्जुगाड–बाम्का बजार, बुढीगंगा–आरसिसी–बलेना–जडंगा पुल क्षेत्रमा अझै सडक अवरुद्ध रहेको छ । बलेना पुलको बायाँपट्टिको थाम (एबुटमेन्ट) बगाएको छ । त्यस खण्डमा रहेको बेलिब्रिज पनि बाढीले बगाएको छ । त्यस्तै, यही सडकको बल्देखण्डमा सडक चर्किनुका साथै पहिरो जाँदा अवरुद्ध छ । ४ साउनदेखि अवरुद्ध सडक भदौ अन्तिमसम्ममा सुचारु गर्ने तयारी छ । त्यस्तै, अम्कोट–द्वारीखण्डमा ठूलो पहिरो जाँदा अवरुद्ध भएको सडक २५ भदौसम्ममा सुचारु गर्ने तयारी छ । 

मनसुनले अवरुद्ध बनाएको अर्को सडक ११ किलो छेपेटार–बारपाक योजना हो । यस सडकका विभिन्न खण्डमा पहिरो गएको, सडक सुचारु गर्न खटाएको ब्याकहो लोडरमा क्षति पुगेको छ । १० साउनदेखि अवरुद्ध यो सडक भदौ दोस्रो हप्तादेखि नै सञ्चालनमा ल्याउने योजना भए पनि प्राविधिक कठिनाइका कारण अझै सुचारु हुन सकेको छैन । डुम्रे–बेसीसहर–चामे सडकको घोप्टे खोला क्षेत्रमा खोलाले ह्युमपाइप बगाई सडक अवरुद्ध भएका कारण सञ्चालनमा छैन । २२ साउनमा अवरुद्ध यो सडक यही हप्ताभित्र खुलाउने तयारी छ । 

९१ स्थानमा एकतर्फी सडक सञ्चालन 
सबैभन्दा धेरै प्रभावित भएको अरनिको राजमार्गका अधिकांश ठाउँमा सडक एकतर्फी सञ्चालनमा आएको छ । राजमार्गको कोठे, लामासाँघु बाह्रबिसे, खुर्सानीबारी, शिरीषे, खग्दोल, जम्बु, झ्याले, चाकु डाकलांक, माथिल्लो भोटेकोसी ड्याम क्षेत्र, घट्टेखोलालगायतका १५ स्थानमा पुल र सडकमा समस्याका कारण राजमार्ग अवरुद्ध भएको थियो ।

त्यस्तै, कोसी राजमार्गको भेडेटार मूलघाट खण्ड, डुम्रे–बेसीसहर–चामे सडकको पुमा खोला क्षेत्र, कान्ति लोकपथको घट्टेपख, बाघधारा, शिलालेख, छपेलीमा पनि एकतर्फी सडक सञ्चालन रहेको छ । नारायणगढ–मुग्लिङ सडकको १७ किलोमा पनि एकतर्फी सडक सञ्चालन भइरहेको छ । 

कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको काभ्रेभिर र घोप्टेभिरमा पनि दुईतर्फी सडक सञ्चालन हुन सकेको छैन । सडकमाथिबाट पहिरो आएका कारण सडक अवरुद्ध भएको थियो, अहिले एकतर्फी सञ्चालनमा ल्याइएको छ । सिद्धिचरण राजमार्गको सिस्नेरी भिर र साल्मे भिरमा एकतर्फी सडक सञ्चालन भइरहेको छ । डुम्रे–बेसीसहर–चामे सडक योजनाको पुवा खोला, खरखरे भिर, तारिकुना, राम बजार, स्याँगे, श्रीचौर, ताप्रिसेरा घट्टे खोलालगायतका ठाउँमा आंशिक मात्र सडक सञ्चालनमा रहेको छ ।
 

सुझावित समाचार