प्रहरी हिरासतमा रहेका युवामा कोरोना पुष्टि

आइतबार, २१ भदौ, २०७७
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका मुसिकोट नगरपालिका– ४ का २५ वर्षीय युवकमा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल पर्सन  ईश्वर रावलले बताए । मुसिकोट नगरपालिकाले १५ भदौमा एक सय ४७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाएको थियो । 

कोरोना देखिएका युवालाई प्रहरीले १ भदौमा पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसीले हिरासतमा रहेका सबै थुनुवाको स्वाब परीक्षण गर्दा एकजनामा संक्रमण देखिएको बताए । 

कोरोना संक्रमण पुष्टि भएका युवासँगै एउटै कोठामा सातजना थुनुवा बसिरहेको डिएसपी केसीले जानकारी दिए । संक्रमण पुष्टि भएका युवामा कुनै लक्षण नभएको प्रहरीले जनाएको छ । 

हिरासतमा रहेका युवामा कोरोना देखिएसँगै रुकुम पश्चिममा कोरोना संक्रमितको संख्या ६५ पुगेको छ । जसमध्ये ५५ जना निको भइसकेका छन् । 
 

सुझावित समाचार