मोरङको रंगेली नगरपालिका कोरोना संक्रमणमुक्त

आइतबार, २१ भदौ, २०७७
डिजिटल संस्करण
मोरङको रंगेली नगरपालिका कोरोना संक्रमणमुक्त

आइसोलेसन क्षेत्रमा गरिएकाे बृक्षाराेपण

मोरङको रंगेली नगरपालिका कोरोन संक्रमणमुक्त भएको छ । 

नगरपालिकाका एक सय २२ जना संक्रमित सबै निको भएका छन् । नगरपालिकाका प्रमुख दिलीप बगडियाले शनिबारसम्म नगरभित्रका सबै संक्रमित निको भएको बताए । 

नगरपालिकाले विदेशबाट आएका तथा समुदायमा रहेका मानिसको स्वाब संकलन गरी परीक्षण गर्दा एक सय २२ जनामा काेराेना पोजेटिभ देखिएको थियो ।

कोरोना संक्रमणबाट रंगेली– ८ का एक युवकको भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । 

नगरपालिकाले संक्रमितसँग कन्ट्याक्ट ट्रेसिङमा आएका सबैको परीक्षण गरेर आइसोलेसनमा राखेको थियो । 

एकैचोटि धेरैजना संक्रमित फेला परेको र कोभिड अस्पतालमा पनि शय्या अभाव भएपछि रंगेली नगरपालिकाले क्वारेन्टिनलाई आइसोलेसनमा स्तराेन्नति गरेर संक्रमितको उपचार थालेको थियो ।

आइसोलेसनमा भर्ना भएका सबै एक महिनाभित्र निको भएका हुन् ।

निकाे भएर डिस्चार्ज हुने हरेकले आइसोलेसन परिसरमा एउटा रूख रोपेर घर फर्किएका छन् । 

नगर क्षेत्रमा गरिएको लकडाउन, एरिया सिल र निषेधाज्ञाको सबैले पालना गरेका कारण नगरपालिका क्षेत्र संक्रमणमुक्त हुन सफल भएको नगरप्रमुख बगडिया बताउँछन् । 

उनले भारत र अन्यत्रबाट आउने सबैलाई अनिवार्य क्वारेन्टिनमा राखेर पिसिआर परीक्षण गर्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गरिने बताए । 

नगर क्षेत्रलाई संक्रमणमुक्त कायम राख्न सामाजिक दूरी कायम गराउने र जनस्वास्थ्यका सबै नियमलाई पालना गराउन जोड दिइने बगडियाले उल्लेख गरे । 
 

सुझावित समाचार