वैकल्पिक विधिले मान्यता पाएपछि शिक्षाको बजेट पनि पुनरावलोकन हुँदै

आइतबार, २१ भदौ, २०७७
डिजिटल संस्करण

विद्यार्थीले रेडियोलगायत उपकरण खरिद गर्न सक्ने गरी बजेट संशोधन गरिँदै

सरकारले वैकल्पिक विधिबाट हुने पठनपाठनलाई औपचारिक मान्यता दिएपछि शिक्षा मन्त्रालयको बजेटसमेत पुनरावलोकन हुने भएको छ । विद्यालयमा विद्यार्थी उपस्थित हुन नसक्दा दिवा खाजा, सेनेटरी प्याड, स्वयंसेवक शिक्षकलगायत शीर्षकमा रकम खर्च हुने अवस्था छैन । त्यसका लागि विनियोजित बजेट वैकल्पिक विधिबाट सिकाइ उपलब्धि बढाउने कार्यक्रममा खर्च गर्ने योजनामा शिक्षा मन्त्रालय छ ।

मन्त्रालयले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७’ संशोधन गरी वैकल्पिक विधिको पठनपाठनलाई मान्यता दिएको छ । सोहीअनुसार बजेट पनि पुनरावलोकन गर्न लागिएको हो । मन्त्रालय स्रोतका अनुसार करिब १९ अर्बको बजेटमा पुनरावलोकन गर्न सकिने अवस्था छ । स्थानीय तहमा गइसकेको रकम केन्द्रमा फिर्ता नगरी कार्यक्रम संशोधन गर्दै विद्यार्थीको आवश्यकताका आधारमा खर्च गर्ने व्यवस्था गर्न लागिएको छ ।

यस्ता छन् पुनरावलोकन गर्न सकिने कार्यक्रम र बजेट

सरकारले चालू आर्थिक वर्ष ०७७/७८ देखि सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका सबै बालबालिकालाई दिवाखाजा उपलब्ध गराउन बजेट विनियोजन गरेको थियो । करिब २८ लाख बालबालिका यसमा समेटिने आव ०७७÷७८ को बजेटमा उल्लेख छ । र, त्यसका लागि सात अर्ब ५२ करोड विनियोजन गरिएको छ ।

यसअघि ४३ जिल्लाका बालबालिकालाई दिवा खाजाको व्यवस्था थियो । यस्तै, सेनेटरी प्याडका लागि एक अर्ब ८१ करोड रुपैयाँ विनियोजित छ । ६ हजारजना स्वयंसेवक शिक्षकका लागि दुई अर्ब २३ करोड र छात्रवृत्तिमा दुई अर्ब ७० करोड विनियोजन भएको छ । विद्यालय नै सञ्चालन नभएपछि त्यो रकमलाई कसरी खर्च गर्ने भन्ने तय गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् । उक्त रकमलाई कोभिड–१९ संकटको सेरोफेरोमा रहेर खर्च हुने गरी पुनरावलोकन गर्न लागिएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरण केसीले बताए ।

विद्यालयका शिक्षकलाई पनि परिचालन गरी विद्यार्थीको आर्थिक अवस्था र उनीहरू कुन अवस्थामा के गरिरहेका छन् भन्ने पहिचान गरी तथ्यांक उपलब्ध गराउन मन्त्रालयले स्थानीय तहहरूलाई आग्रह गर्ने भएको छ । र, सोहीअनुसार योजना तय गर्ने मन्त्रालयको सोच देखिन्छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यार्थीको आवश्यकताअनुसार उपकरण खरिदलगायत काम गर्न सक्ने गरी कार्यक्रम संशोधनको तयारी भइरहेको बताए । ‘स्थानीय तहमा गइसकेको बजेट केन्द्रमा ल्याउन सकिँदैन,’ उनले भने, ‘वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइमा सहयोग पुग्ने गरी बजेट पुनरावलोकन गर्ने तयारी छ ।’ उनका अनुसार विद्यार्थीलाई सहयोगी हुने पेनड्राइभ, टिभी, रेडियो, मोबाइल, ल्यापटप खरिद तथा विद्यालयमा कम्प्युटर, प्रिन्टरलगायत सामग्री उपलब्ध गराउन बजेट खर्च हुन सक्छ ।

विशेष अवस्थाका बालबालिकालाई सहयोग
कुनै पनि प्रविधि उपलब्ध नभएका विद्यार्थी पहिचान गर्दै स्थानीय सरकारमार्फत उनीहरूलाई प्रविधिको पहुँचमा ल्याउने गरी पुनरावलोकन हुन लागेको केसीले बताए ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले गरिब विद्यार्थीलाई छुट्याएको रकम विद्यार्थीलाई नै दिनुपर्ने, तर त्यसका लागि पद्धति बदल्नुपर्ने बताए । तत्काल पालिकामा कोष खडा गरी कमजोर विद्यार्थीलाई सहयोग गर्नुपर्ने उनको सुझाब छ ।

शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले गरिब विद्यार्थीलाई छुट्याएको गाँस काट्न नहुने बताए । ‘दिवा खाजालगायत विद्यार्थीका नाममा गएको रकम विद्यालय र स्थानीय तह मिलेर घर–घरमा पुर्याउँदा राम्रो हुन्छ,’ गौतमले भने, ‘अभिभावकको आम्दानी गुमेको समयमा खाजा दिने पद्धतिमा परिवर्तन गर्न सकिन्छ । त्यसबाट घरमै रहेर पनि सिकाइ उपलब्धिमा सहयोग पुग्छ ।’

खर्च नहुने रकम डिभाइस खरिदमा पनि लगाउन सकिने उनको भनाइ छ । विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापाले रकमान्तर गरी उपकरण खरिद गरिदिँदै सिकाइ निरन्तरतामा रकम खर्च गर्नुपर्ने बताए । अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले सरकारले थप आर्थिक भारबिना नै विद्यार्थीलाई उपकरण खरिददेखि शिक्षण सिकाइमा खर्च गर्न सकिने बताए ।

राष्ट्रपति शैक्षिक कार्यक्रमको ६ अर्ब आएन
सरकारले चालू शैक्षिक वर्षमा राष्ट्रपति शैक्षिक कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख छ । तर, त्यो रकम शिक्षा मन्त्रालयमा आइपुगेको छैन । स्रोत नजुटेका कारण रकम नआएको मन्त्रालयका अधिकारीको भनाइ छ ।

सुझावित समाचार