कसले गर्ने पिसिआर परीक्षण ?

बिहिबार, १७ भदौ, २०७७
डिजिटल संस्करण

डाक्टरको सल्लाह

डा. गेहनाथ बराल
वरिष्ठ प्रसूति तथा स्त्री 
रोग विशेषज्ञ, नोबेल 
मेडिकल कलेज, विराटनगर 

समाजमा कोरोना भाइरसको स्थिति बुझ्न र संक्रमित पत्ता लगाएर संक्रमण नियन्त्रणमा ल्याउन पोलिमरेज चेन रियाक्सन (पिसिआर) परीक्षण आवश्यक छ । हरेकजसो टोलमा कोरोना संक्रमित देखिन थालेकाले धेरै व्यक्तिमा संक्रमण सर्ने सम्भावना छ ।

त्यसैले सकेसम्म धेरै व्यक्तिमा परीक्षण गर्न आवश्यक हुन्छ । सामान्यतः परीक्षण गर्दा संक्रमितलाई आइसोलेसन कक्षमा राख्दा संक्रमण फैलिनबाट जोगाउन सकिन्छ । पोलिमरेज चेन रियाक्सन (पिसिआर)मा घाँटी, श्वासनलीको लिक्विड र मुखको र्‍यालको नमुना परीक्षण गरिन्छ ।

कोभिड परीक्षणको क्रममा करिब ६ इन्च लामो स्वाब स्टिक (लामो क्यु टिप जस्तै प्लास्टिक वा काठको स्टिक)मा कपास बेरेर घाँटी वा नाकबाट छिराएर स्वाब लिइन्छ । मेडिकल भाषामा नाकको प्वालबाट छिराएर लिने विधिलाई नेजोफिरिनजियल स्वाब र मुखबाट लिइने स्वाबलाई अरोफिरिनजियल स्वाब भनिन्छ ।

स्वाब लिँदा नाक र घाँटीको पछाडि भाइरस रहन सक्ने स्थानको र्‍याल संकलन गरिन्छ । स्टिकलाई दुवैतिरबाट घुमाएर कपासमा स्वाबसँगै भाइरस आउने गरेर निकालिन्छ । यसलाई स्वाब संकलनको विधि भनिन्छ । 

सामान्यतः पिसिआर परीक्षण डाइग्नोसिस, स्क्रिनिङ र सर्भिलेन्स उद्देश्यका लागि गरिन्छ । सामान्य स्वास्थ्य अवस्था भएको व्यक्तिमा संक्रमण भए नभएको पत्ता लगाउन गरिने परीक्षण स्क्रिनिङ टेस्ट हो भने लक्षण देखिएका व्यक्तिमा कोभिड पुष्टि गर्न गरिने परीक्षण डाइग्नोसिस हो । यस्तै, समुदायमा संक्रमणको अवस्था पत्ता लगाउन सर्भिलेन्स टेस्ट गरिन्छ ।

अस्पतालमा अन्य स्वास्थ्य सेवा लिनुभन्दा अगाडि स्क्रिनिङ टेस्ट गरिन्छ । जस्तै, कुनै शल्यक्रिया गर्नुभन्दा अगाडि, यात्राका लागि, काममा सहभागी हुन स्क्रिनिङ टेस्ट गरिन्छ । अत्यावश्यकबाहेक अन्य संक्रमित पत्ता लगाउन अर्थात् समुदायमा संक्रमणको अवस्था पत्ता लगाउन सर्भिलेन्स आवश्यक हुन्छ । जस्तै, भ्याक्सिन प्रयोगका लागि अत्यावश्यक तथ्यांक संकलन गर्नसमेत सर्भिलेन्स उपयुक्त हुन सक्छ । एन्टिबडी परीक्षण यसको मुख्य उदाहरण हो । 

डाइग्नोसिस आवश्यक 

सीमित स्रोतसाधन भएकाले नेपालमा हाल स्क्रिनिङ र सर्भिलेन्स अत्यावश्यक छैन । सामान्यतः परीक्षण गराउन सक्ने पहुँचमा भएका सबै व्यक्तिले परीक्षण गराउँदा नेपालजस्तो मुलुकमा अन्य प्रभावित व्यक्तिहरू वञ्चित भइरहेका छन् । पछिल्लो समय लक्षणसहितका संक्रमित बढ्दै गएका छन् । जसकारण हाललाई लक्षण देखिएका र संक्रमितको सम्पर्कमा आएका व्यक्तिमा मात्र परीक्षण सीमित गर्न सकिन्छ ।

यसबाहेक अत्यावश्यक भएमा अन्य व्यक्तिमा स्क्रिनिङ गर्न सकिन्छ । अहिलेको संक्रमण नियन्त्रणका लागि सबै जनसंख्यामा परीक्षण आवश्यक छ, तर स्रोतसाधनको सीमितताका कारण नियन्त्रण प्रभावकारी बनाउन सरकारले निश्चित मापदण्ड बनाउनुपर्ने छ । 

सरकारले पछिल्लो समय समुदायस्तरमा एन्टिबडी परीक्षण गर्ने योजना बनाएको छ । कोरोना संक्रमण भएर निको भइसकेका व्यक्ति पत्ता लगाउन एन्टिबडी परीक्षण गरिन्छ । यो परीक्षणबाट संक्रमण भएर शरीरमा एन्टिबडी निर्माण भइसकेका व्यक्तिको तथ्यांक लिन सकिन्छ । भ्याक्सिन टेस्ट गर्न एन्टिबडी परीक्षण आवश्यक हुन्छ । 

सुझावित समाचार