इटहरी उपमहानगरपालिकाका ५८ जनासहित सुनसरीमा पछिल्लो २४ घन्टामा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार बिहान ११ र मंगलबार साँझ गरिएको परीक्षणमा ५६ गरी थप ६७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीकी फोकल पर्सन सिर्जना लिङथेपले जानकारी दिइन् ।
संक्रमित हुनेमा ६० पुरुष र सात महिला छन् । इटहरी उपमहानगरका ५८ जना, धरानका सातजना, भोक्राहाका एकजना र इनरुवाका एकजना संक्रमित भएका हुन् ।
संक्रमित हुनेमा धरानमा इलाका प्रहरी कार्यालयका एकजना थुनुवा पनि रहेकाे धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
योसँगै सुनसरीमा कोरोना संक्रमितको कुल संख्या आठ सय ३० पुगेको छ । लिङथेपका अनुसार हालसम्म तीन सय ८५ जना कोरोना निको भएर घर फर्केका छन् ।
हालसम्म सुनसरीमा संक्रमणकै कारण ६ जनाको मृत्यु भएको छ ।