काठमाडौं । आफूहरूलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर ) बताउँदै रकम माग गर्ने तथा धम्की दिएको आरोपमा प्रहरीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ९ बाट पाँचजनालाई पक्राउ गरेको छ । गत बिहीबार दिउँसो करिब २ बजेतिर सोधपुछका लागि प्रहरी प्रभाग काँडाघारी बोलाइएका एक व्यक्तिका भाइसँग उनीहरूले रकमका लागि दबाब दिएकाे प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा ओखलढुंगाको मोलुङ–२ घर भई चाबहिल बस्ने ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु– १ घर भई कपन बस्ने २९ वर्षीय इन्द्रबहादुर भुजेल र पाल्पाको तानसेन– ६ घर भई हात्तीडाँडा बस्ने ३३ वर्षीय धीरज रानाभाट छन्। यसैगरी, सिन्धुपाल्चोकको जुगल– ५ घर भई भक्तपुरको दुवाकोट बस्ने २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीको मरिण– २ घर भई बनेपा बस्ने वर्ष ३० वर्षीय हर्कसिंह भोलनलाई समेत प्रहरीले पक्राउ गरेको छ।
उनीहरूले आफूहरू प्रहरी निरीक्षक भएको बताउँदै दुई लाख रुपैयाँ दिए मुद्दा नचलाई छुटाइदिने भनी रकम माग गरेको र होटेलको खर्च तिर्न लगाएको प्रहरीले जनाएको छ।
रकम दिन इन्कार गरेपछि उनीहरूले फोन तथा म्यासेजमार्फत विभिन्न धम्की दिएको सूचनाका आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले वीरेन्द्र चोकबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूमाथि ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा चार दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।