तनहुँ/ तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित डम्पिङ साइट क्षेत्रमा मर्स्याङ्दी नदीमा खसेर एक बालक बेपत्ता भएका छन्।
चितवनस्थित पारिजात सेकेन्डरी विद्यालयबाट शैक्षिक भ्रमण गरी फर्किने क्रममा भरतपुर महानगरपालिका–६ निवासी १५ वर्षीय अंकित गुरुङ नदीमा खसेर बेपत्ता भएका हुन्।
प्राप्त जानकारीअनुसार मंसिर १२ गते साँझ करिब ६ः२० बजे उक्त स्थानमा गाडी रोकेपछि शौचालय जान सडकबाट तल झर्ने क्रममा गुरुङ मर्स्याङ्दी नदीमा खसेका थिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २३ मनकामना गण तनहुँबाट सुरक्षाकर्मीको टोली खोजी तथा उद्धारका लागि परिचालन गरिएको छ।
बेपत्ता बालकको खोजी कार्यका लागि चारजना गोताखोरसहितको सशस्त्र प्रहरी टोली घटनास्थलमा खटिएको छ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बेपत्ता बालकको खोजी तथा उद्धार कार्य जारी रहेको छ।