१० करोडको लागतमा काठमाडौंमा अटिजम स्कुल निर्माण सुरु

बुधबार, ९ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौ/ काठमाडौँ महानगरपालिकाले करिब १० करोड रुपैयाँको लागतमा अटिजम स्कुल तथा अनुसन्धान केन्द्र निर्माण सुरु गरेको छ। महानगरपालिकाकी  कार्यवाहक प्रमुख सुनीता डंगोलले वडा नं. २९ मा अटिजम भएका बालबालिका, अभिभावक र जनप्रतिनिधिसहित बुधबार केन्द्रको शिलान्यास गरेकी छिन्। आज आयोजना गरिएको एक समारोहबिच वडाध्यक्ष कुश ढकालसहित जनप्रतिनिधि र स्थानीयका साथमा भवन निर्माणका लागि जग पूजा र शिलान्यास गरेका हुन्। 

जग पूजा तथा शिलान्यासपछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले, सरकारबाट अटिजम भएका बालबालिकाका लागि स्कुल बनाउनु महानगरपालिकाले देखेको सपना र अभिभावकहरूले गर्नुभएको अपेक्षा पूरा हुने चरणमा पुगेको बताइन्। ‘हामी काठमाडौंलाई समतामूलक, समावेशी, करुणा र ममता तथा मानवतामा आधारित सहर बनाउने प्रयासमा छौँ । यही क्रममा अटिजम भएका बालबालिकाका लागि स्कुल र अनुसन्धानका लागि भवन निर्माण गर्न लागेका हौँ,’ उनले भनिन्, ‘अटिजम र बौद्धिक अपांगता भएका बालबालिकालाई छुट्याउन खोजिएको हो कि भन्ने पनि लाग्न सक्छ । तर, त्यसो होइन। सन्तुलित समाजका लागि फरक आवश्यकता भएका बालबालिकालाई समान सामाजिक व्यवहारका लागि योग्य बनाउन विशेष अभियान चलाएका हौँ ।’ 

त्यस क्रममा वडाध्यक्ष कुश ढकालले भने, ‘अटिजम भएका बालबालिका आफैँले समस्या पीडा महसुस गर्न सक्दैनन् । पीडा त अभिभावकलाई हुन्छ । अभिभावकहरूको पीडामा साथ दिन वडासँगै अटिजम स्कुल निर्माण हुनु वडाबासीकै लागि पवित्र काम हो । यो वडाको गौरवको योजना पनि हो । हामीले थालेको यो कर्मबाट अन्य स्थानीय तहमा पनि अटिजम विद्यालय निर्माणमा प्रोत्साहन हुन सकोस्।’ 

वडाको प्रशासनिक भवनको पूर्वतर्फ निर्माण हुने भवन ४५० दशमलव ८० वर्गमिटर क्षेत्रफलमा निर्माण हुने महानगरपालिकाले जनाएको छ । भवनका डिजाइनर इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवनको लम्बाइ ९२ फिट र चौडाइ पूर्वतर्फ ३५ फिट र पश्चिम तर्फ २२ फिटको हुनेछ । १७ मिटर उचाइको ५ तले भवनका हरेक तला ३ हजार वर्गफिटका हुनेछन् । ३ हजार ५ सय वर्गफिटको भूमिगत तलासहित भवन १८ हजार ५ सय वर्गफिटको हुनेछ ।  
भवनको भुमिगत तलामा ३० वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने ठाउँ हुनेछ । जमिन तलामा खुला भाग, भर्याङ र लिफ्ट तथा भित्र पस्ने मुख्य ढोका हुनेछ । पहिलो, दोस्रो र तेस्रो तलामा तालिम तथा प्रशिक्षण कक्ष हुनेछन् । चौथो तलामा प्रशासन र अनुसन्धान कक्ष हुनेछ । पाँचौँ तलामा बार्दली हुनेछ । 

जमिन तलामा खेल्ने खुला भाग हुनेछ । लिफ्ट ८ जना क्षमताको हुनेछ । शौचालय तथा कोठाहरू पहुँचयुक्त हुनेछन् । 

भवन निर्माणका लागि १० करोड ९१ लख ७९ हजार ६०२ रुपियाँ लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट भवन निर्माणका लागि ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपियाँमा सम्झौता भएको छ । निर्माण पक्षलाई २०८३ मंसिर ३ गते कार्यादेश दिइएको हो । २०८४ चैत मसान्तभित्र निर्माण कार्य सम्पन्न गरिसक्नु पर्नेछ । 

काठमाडौंमा अटिजम भएका बालबालिका तथा उनीहरूका अभिभावकहरूको सहयोग र सेवाको आवश्यकता बढ्दै गएको छ । समारोहमा उपस्थिति अभिभावकहरूको आँखा खुसीले रसाएका थिए । त्यस क्रममा अभिभावक सुनीता प्याकुरेलले  भनिन् ‘हामीलाई बल्ल सास फेर्न सजिलो हुनेभयो ।’

‘मेरो छोरो छिटो जन्मिएछ । अहिले भएको भए मलाई कति सजिलो हुन्थ्यो होला ।’ अर्का अभिभावक मीना ढुंगानाले भनिन्, ‘मेरो छोरो ३२ वर्षको भयो । उसको मैले नै पूरै समय सेवा गर्नुपर्छ । मैले अरू केही गर्न पाइनँ । अहिले भएको भए त केही गर्ने अवसर पनि पाइने रहेछ । महानगरपालिकाले हाम्रो लागि काम गरेको छ । खुसीको सीमा रहेन ।’ 

अर्का अभिभावक मिसान बान्तवाले भने, ‘सरकारले दिएको ठाउँ नहुँदा आर्थिक बोझ बोकी सक्ने नै थिएन । निजी क्षेत्रमा गयो भने ४० हजार र ४५ हजार मासिक खर्च देखाउँछन् । यो त व्यहोर्नै सकिँदैन । यसैले महानगरपालिका त हाम्रा लागि अभिभावक मात्र होइन । जीवनदाता नै भएको छ ।’

विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रका अध्यक्ष सविता उप्रेती भन्छिन्, ‘सरकार, अभिभावक र बालबालिका एकै ठाउँमा राख्नका लागि महानगरपालिकाले थालेको काम प्रशंशा योग्य छ ।’ अभानी फाउन्डेसन, फ्रेन्ड्स अफ प्यारेन्टस अफ चिल्ड्रेन विथ अटिजम, नेपाल अटिजम विद्यालय, असंवादी कल्याण संघ, निर्मल बाल विकास विद्यालय, किवानिज इन्टरनेसनललगायत अटिजम र बौद्धिक अपांगताको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिहरूले  कार्यक्रममा खुसी व्यक्त गरे। 
 

सुझावित समाचार