जनकपुरविरुद्ध लुम्बिनी १६ रनले विजयी

बिहिबार, १९ कार्तिक, २०८३
डिजिटल संस्करण
जनकपुरविरुद्ध लुम्बिनी १६ रनले विजयी

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले अपराजित यात्रा जारी राखेको छ। बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै लुम्बिनीले तेस्रो जित दर्ता गरेको हो।

त्रिवि क्रिकेट मैदानमा १५० रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले आठ विकेटको क्षतिमा १३३ रन मात्र जोड्न सक्यो। टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले आठ विकेट गुमाएर १४९ रनको योगफल तयार गरेको थियो।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन जोड्दा निरोसन डिकवेलाले २७ र दिलीप नाथले २५ रनको योगदान गरे। आशिफ शेख २१, रुबेन ट्रम्पलमेन १५ र समिम होसन १३ रन जोडेर पेभेलियन फर्किएका थिए।

जनकपुरका विशाल सुस्लिङ र राहुल यादवले दुई–दुई विकेट निकाल्दा ललित राजवंशी, हर्मित सिंह र अभिशेख तिवारीले समान एक विकेट हात पारे।

जवाफी ब्याटिङ गरेको जनकपुरका लागि कप्तान हर्मित सिंहले सर्वाधिक ३३ रन बनाउँदा आदित्य मेहताले अविजित ३० रनको योगदान गरे। सैफ हसन र तृतराज दास क्रमशः २८ र १८ रन बटुलेर पेभेलियन फर्किए।

लुम्बिनीका डार्सी सर्टले तीन विकेट निकाले। शेर मल्ल र तिलक भण्डारीले समान दुई तथा रुबेन ट्रम्पलमेनले एक विकेट हात पारे।
 

सुझावित समाचार