काठमाडाैं- नेपालले माग्दै आएको ‘एयर इन्ट्री रुट’को अनुमति, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) टुंग्याउने र भोटेकोशी बाढीपछि पुनर्निर्माणमा अनुदान तथा ऋण सहयोग गर्ने विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि द्विपक्षीय छलफल हुने भएको छ । भारतीय विदेशसचिव विक्रम मिश्री काठमाडौं आएलगत्तै भएको द्विपक्षीय वार्तामा ‘एयर इन्ट्री रुट’ र पञ्चेश्वरबारे प्रधानमन्त्रीको भ्रमणअघि नै द्विपक्षीय प्राविधिक संयन्त्रमा छलफल गर्ने सहमति भएको हो ।
परराष्ट्रसचिव अमृतबहादुर राई र भारतीय विदेशसचिव मिश्रीले बैठकको सहअध्यक्षता गरेका थिए भने छलफलमा अर्थ, गृह, वाणिज्य र ऊर्जा मन्त्रालयका अधिकारी पनि सहभागी थिए । बैठकमा परराष्ट्र मन्त्रालयको भारत मामिला हेर्ने महाशाखा प्रमुख गेहेन्द्र राजभण्डारी, भारतस्थित कार्यवाहक नेपाली राजदूत डा. सुरेन्द्र थापा, उपसचिव ललिता सिलवाललगायत सहभागी थिए । भारतीय पक्षबाट राजदूत सुधाकर दलेला, नेपाल मामिला हेर्ने महाशाखा प्रमुख मनु महावर, भारतीय राजदूतावासका उपनियोग प्रमुख डा. राकेश पाण्डेलगायत सहभागी थिए ।
‘भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारतबाट विगतमा मागिएको हवाई प्रवेश अनुमति र महाकाली सन्धिको मर्मअनुसार पञ्चेश्वर बहुउद्देशीय परियोजनाको डिपिआरका बारेमा दुई देशका सम्बन्धित अधिकारीहरूको तह (प्राविधिक समिति)मा तत्कालै छलफल गर्ने सहमति भएको छ,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणअघि नै छलफल गर्ने सहमति छ ।’
बैठकपछि परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्रीको भ्रमणको तयारी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), व्यापार विकास सहयोग, ऊर्जा सहकार्य र जनस्तरको सम्बन्धबारे छलफल भएको बताए । ‘द्विपक्षीय बैठकमा नेपाल र भारतबिचको घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ र फलदायी बनाउने दिशामा ६ विषयहरूमा कुराकानी भएको छ,’ उनले भने । प्रधानमन्त्री शाहको मंसिर पहिलो साता (७ देखि ९ मंसिर) भारत भ्रमण हुने मितिमा दुई पक्षबिच छलफल भइरहेको छ ।
परराष्ट्रसचिव राईले नेपालको विपत्मा भारतले सबैभन्दा पहिला गरेको सहयोगको प्रशंसा गर्दै प्रधानमन्त्री शाहको आगामी भ्रमणले दुई देशको सम्बन्ध थप सुदृढ हुने विश्वास जनाएका थिए । त्यस्तै, भारतीय विदेशसचिव मिश्रीले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै नेपाललाई पुनर्निर्माणलगायतका विषयमा सहयोगको आश्वासन दिएका थिए । तत्कालै परिणाम देखिने परियोजना कार्यान्वयनमा दुवै पक्षको जोड थियो । बैठकमा सहभागी अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणमा संयुक्त रूपमा शिलान्यास तथा उद्घाटन हुने परियोजनाबारे छलफल भएको थियो । जसअनुसार जनकपुर–अयोध्या रेल, दोधारा–चाँदनी र भैरहवामा नेपाल–भारत एकीकृत जाँच चौकी, महाकाली नदीमा पुल, नेपाल प्रहरी एकेडेमी भवनको संयुक्त रूपमा उद्घाटन हुने गरी छलफल भएको छ । त्यस्तै, पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यासलगायत केही जलविद्युत् परियोजनाबारे छलफल भएको, तर टुंगिन बाँकी रहेको ती अधिकारीले बताए । बैठकमा अरुण तेस्रो, तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत् आयोजनाको प्रगतिका विषयमा समेत छलफल भएको थियो ।
‘नेपालका प्रधानमन्त्रीको आगामी भारत भ्रमणको तयारीका सन्दर्भमा विदेशसचिव बिक्रम मिश्रीले परराष्ट्रसचिव अमृतबहादुर राईसँग पारस्परिक हितका विभिन्न विषयमा छलफल गर्नुभयो,’ भारतीय दूतावासले भनेको छ ।
नेपालले भारतसँग भोटेकोशी बाढीपछि पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि अनुदान र सहुलियत ऋण गरी करिब ३ खर्ब नेपाली रुपैयाँको अपेक्षा गरेकोबारे पनि बैठकमा छलफल भएको थियो । नेपालले समग्र विकास सहायता बढाउन भारतसँग अनुरोध गरेको छ । अर्थ मन्त्रालयसँग यसबारे विस्तृत छलफल गरेर भारतले ऋण र अनुदान सहयोग प्रधानमन्त्री शाहको भारत भ्रमणका वेला घोषणा गर्ने संकेत दिएको छ । त्यस्तै, द्विपक्षीय व्यापार प्रवर्द्धन तथा सहजीकरणबारे छलफल भएको थियो भने ऊर्जा क्षेत्रमा विद्यमान सहकार्यलाई थप विस्तार र सुदृढीकरण गर्ने सहमति भएको थियो । दुई देशका नागरिकबिचको सम्बन्ध र आपसी सम्पर्कलाई थप प्रगाढ बनाउने सहमति भएको परराष्ट्र प्रवक्ता पौडेल क्षेत्रीले बताए ।
अर्थ, परराष्ट्र, ऊर्जा र भौतिक पूर्वाधारमन्त्रीसँग बेग्लै छलफल
भारतीय विदेश सचिव विक्रम मिश्रीले बुधबारै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालसँग बेग्लाबेग्लै भेट गरे । अर्थमन्त्री वाग्लेसँगको भेटमा दुई देशबिच आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको वाग्लेको सचिवालयले जनाएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल–भारतबिचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरेका थिए । उनीहरूबिच ऊर्जा, व्यापार, खेलकुद, शिक्षालगायतका विविध विषयमा पनि छलफल भएको थियो । ऊर्जामन्त्री श्रेष्ठसँगको भेटमा दुई देशबिच ऊर्जा व्यापार, जलविद्युत् आयोजनाहरूको निर्माण, विपत् प्रतिकार्य, पूर्वसूचना प्रणालीलगायत विषयमा छलफल भएको थियो ।
मन्त्री श्रेष्ठले विद्युत् व्यापार बढाउन, नेपालमा सञ्चालित परियोजनाहरू सम्पन्न गर्न र भारतका निजी क्षेत्रलाई नेपालमा लगानी अभिवृद्धिका लागि सहजीकरण गरिदिन अनुरोध गरे । नेपालबाट भारततर्फ हुँदै आएको विद्युत् निर्यातको सीमा थप विस्तार, मौसमसम्बन्धी सूचना तथा तथ्यांक आदानप्रदानमा सहकार्य बढाउन ऊर्जामन्त्री श्रेष्ठले अनुरोध गरेका थिए । पूर्वाधारमन्त्री लम्सालसँगको भेटमा भारतीय सहयोगका सडक तथा पुल आयोजना कार्यान्वयनबारे छलफल भएको थियो ।
प्रधानमन्त्रीसँग आज भेटवार्ता
भारतीय विदेशसचिव मिश्रीले नेपाल भ्रमणको दोस्रो दिन बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भेटवार्ता हुनेछ । प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएर बिहीबारै विदेशसचिव मिश्री दिल्ली फर्किने कार्यक्रम छ ।