वीरगन्ज/ वीरगन्ज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना बिचौलियालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौंमा डेरा गरी बस्ने अन्दाजी २७ वर्षीय प्रवीण साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार साहले आफू सशस्त्र प्रहरी सहायक निरीक्षक रहेको र भन्सार कार्यालयका एजेन्टसँग राम्रो चिनजान भएको भन्दै सर्वसाधारणलाई विश्वासमा पार्ने गरेका थिए। उनले भन्सारबाट लिलाम बिक्री हुने सवारीसाधन तथा घरायसी सामान कम मूल्यमा उपलब्ध गराइदिने आश्वासन दिएर विभिन्न व्यक्तिलाई आफ्नो विश्वासमा पारेका थिए।
लिलाम प्रक्रियामा सहभागी हुन तयार भएका व्यक्तिहरूलाई विभिन्न प्रलोभन देखाउँदै उनले विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाउने र त्यसपछि सम्पर्कविहीन हुने गरेको प्रहरीको भनाइ छ।
प्रहरीको विशेष टोलीले साहलाई असोज २२ गते वीरगन्ज महानगरपालिका–८, घण्टाघरबाट पक्राउ गरेको हो। उनीमाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न प्रहरीले विशेष निगरानी बढाउनुका साथै आवश्यक प्रमाण संकलन गरिरहेको जनाएको छ।
भन्सारबाट लिलाम हुने सामान सस्तोमा उपलब्ध गराइदिने भन्दै बिचौलियाहरूले रकम ठगी गर्न सक्ने भएकाले त्यस्ता व्यक्तिको प्रलोभनमा नपर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता व्यक्तिको सम्पर्कमा नबस्न र बिचौलियासम्बन्धी कुनै सूचना प्राप्त भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत प्रहरीले अनुरोध गरेको छ।