जाजरकोट/ नलगाड नगरपालिका–८ मालुवास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन्।
शनिबार बिहान ११ः१५ बजेतिर रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ६५ मिटर तल खसेको हो।
दुर्घटनापछि इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि नगर अस्पताल दल्ली पठाएको थियो। जाजरकोटको नलगाड नगरपालिका–९ घरङ्गाका १७ वर्षीय सन्तोष विक र सोही स्थानका ५५ वर्षीय रमेश विकलाई उपचारका क्रममा चिकित्सकले दिउँसो १२ः२० बजे मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घाइते हुनेमा नलगाड–२ डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, नलगाड–३ कड्केका २८ वर्षीय गोपाल परियार र अटो चालक रुकुम पश्चिम, आठबिसकोट– ११ चौरका २२ वर्षीय करण परियार रहेका छन्।