कांग्रेसको मतगणना २३ ठाउँमा जारी

सोमबार, २६ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको मतगणना कार्यलाई छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय कार्यालय सानेपामा एकसाथ २३ स्थानमा मतगणना भइरहेको छ।

सभापतिसहित प्रमुख पदाधिकारीहरूको मतगणना सकिएसँगै निर्वाचन समितिले सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको गणनालाई तीव्र रूपमा अघि बढाएको हो। धेरै पद र उम्मेदवारहरूको मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले निर्वाचन समितिले पद र क्लस्टरअनुसार छुट्टाछुट्टै समूह बनाएर गणना अगाडि बढाएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।

खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्य पदको मतगणना पाँच स्थानमा भइरहेको छ भने प्रवासस्थित नेपाली जनसम्पर्क समितिको मतगणनालाई तीव्रता दिन सबैभन्दा धेरै नाै स्थानमा टोली परिचालन गरिएको छ।

त्यसैगरी आदिवासी जनजाति सहमहामन्त्री, आदिवासी जनजाति खुला केन्द्रीय सदस्य र आदिवासी जनजाति महिला सदस्यतर्फको गणना तीन स्थानमा भइरहेको छ।

सुदूरपश्चिम प्रदेशतर्फको खुला केन्द्रीय सदस्य, महिला र ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदको मतगणना चार स्थानमा जारी छ। पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री, खुला केन्द्रीय सदस्य र खुला महिला केन्द्रीय सदस्यको गणना दुई स्थानमा भइरहेको छ।

सदस्यसचिव कटुवालका अनुसार बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको छ। अघिल्लो महाधिवेशनमा भन्दा दोबरभन्दा धेरै (करिब सात हजार) मतदाता भएकाले समय लाग्नु स्वाभाविक भएको उनको भनाइ छ।

सुझावित समाचार