यो वर्ष विजयादशमी : ४ कात्तिक बिहान १०ः२६ मा उत्तम साइत

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यो वर्ष (०८३ साल)को बडादसैँअन्तर्गत विजया दशमीको उत्तम साइत ४ कात्तिक विहान १०ः२६ बजे हुने जनाएको छ ।

समितिले बडादसैँअन्तर्गतका विभिन्न धार्मिक कार्य तथा पूजाआजाका लागि विभिन्न शुभसाइत सार्वजनिक गरेको छ । 

समिति संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत गठन भएको हो । समितिका अध्यक्ष सह प्रा.डा. पुरुषोत्तम भट्टराईले सार्वजनिक गरेको विज्ञप्तिअनुसार  असोज २५ गते घटस्थापनाको शुभसाइत  बिहान ११ः४७ बजे रहेको छ ।  चित्रा नक्षत्र र वैधृति योग परेकाले शान्ति पूजा गरेर मात्र घटस्थापना गर्न समितिले सुझाव दिएको छ । 

फूलपातीको शुभसाइत ३१ असोज ७ः३७ बजे फूलपाती तथा श्री तुलजाभवानी यात्राको साइत परेको छ । बिहान १०ः३९ बजे स्थिरासनको साइत रहेको छ । कात्तिक १ गते आइतबार महाष्टमी (कालरात्रि) र कात्तिक ३ गते मंगलबार महानवमी परेको छ । 

दुर्गा भवानीको प्रसादस्वरूप मान्यजनको हातबाट टीका तथा जमरा ग्रहण गर्ने मुख्य दिन विजयादशमी ४ कात्तिकमा  परेको छ । समितिका अनुसार विजयादशमीका दिन बिहान ८ः४९ बजे देवी विसर्जनको साइत रहेको छ भने टीका ग्रहणका लागि बिहान १०ः२६ बजेको समय उत्तम साइत तोकिएको छ ।

टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्केर बस्नु उपयुक्त हुने समितिको सुझाव छ । विजयादशमीकै दिन बिहान १०ः५१ बजे श्री तुलजाभवानी यात्रा र दिउँसो ११ः५२ बजे स्थिरासनको साइत रहेको छ। कात्तिक ८ गते आइतबार कोजाग्रत पूर्णिमा मनाएसँगै यस वर्षको बडादसैँ समापन हुनेछ । 

सामान्यतया देवीको प्रसाद ग्रहण गर्नका लागि विशेष साइतको आवश्यकता नपर्ने हुनाले विजयादशमीका दिन शुभसाइतबाहेक अन्य समयमा पनि सर्वसाधारणले दिनभरि नै टीका तथा जमरा ग्रहण गर्न सक्ने समितिले स्पष्ट पारेको छ ।
 

सुझावित समाचार