विराटनगरमा तास खेलिरहेको अवस्थामा पक्राउ परेका ५५ वर्षीय बलराम कोइरालाको प्रहरी हिरासतमा मृत्यु भएको छ। तास खेलिरहेको अवस्थामा सोमबार राति विराटनगरको सरोचियाबाट पक्राउ परेका विराटनगर– १४ का कोइरालाको मंगलबार बिहान प्रहरी हिरासतमा मृत्यु भएको हो।
मोरङ प्रहरीले सरोचियाका लालु पासवानको घरमा तास खेलिरहेको अवस्थामा आठजनालाई नगद ४८ हजारसहित पक्राउ गरेको थियो। भाग्ने क्रममा कोइराला लडेर घाइते भएका थिए। तर, प्रहरीले सामान्य अवस्था सम्झेर अस्पताल नलगी पक्राउ परेका सबैलाई हिरासतमै राखेको थियो।
हिरासतमा रहेका अन्यले बिहान चिया खान उठाउँदा कोइराला हिरासतभित्रै अचेत भेटिएका थिए। त्यसपछि प्रहरीले उनलाई उपचारका लागि कोशी अस्पताल लगेको थियो। तर, कोशीमा उपचार सम्भव नभएपछि नोबेल अस्पताल भर्ना गरिएकामा बिहान ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले भने कोइरालाको मृत्युको कारण खुलिनसकेको बताएका छन्। कोइराला यसअघि नै दुर्घटनामा घाइते हुँदा टाउकाको शल्यक्रिया गरेको जानकारी आएको उनको भनाइ छ।