नारायणीमा खतरा तह पार, माइकिङ गर्दै प्रहरी, ठाउँ–ठाउँमा डुबान

शनिबार, १० असोज, २०८३
डिजिटल संस्करण

नारायणी नदीमा पानीको सतह खतरा तह पार गरेको छ। देवघाट जलमापन केन्द्रमा नारायणीको जलसतह खतरा तह आसपास पुगेको र अझै बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। नवलपुरको त्रिवेणी क्षेत्रमा रहेको गण्डक ब्यारेजमा पनि पानीको सतह खतरा तहसम्म पुगेको छ।

नदीमा पानीको बहाब बढ्दै गएपछि नवलपुरको गैँडाकोट–२ का नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै सशस्त्र प्रहरीले माइकिङ गरेको छ। नारायणी नदीमा आएको बाढीका कारण गैँडाकोट–२ स्थित बोटेटोल डुबानमा पर्न थालेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।

नदीकिनार आसपास रहेका ठेला तथा टहरा पनि हटाइएको नवलपुर प्रहरीले जनाएको छ। बाढी बस्तीमा पस्ने जोखिम बढेपछि स्थानीयलाई महत्त्वपूर्ण सामग्रीसहित सुरक्षित स्थानमा सर्न सुरक्षाकर्मीले आग्रह गरेका छन्।

त्यसैगरी, नवलपुरको कावासोती–१७ स्थित अमलटारी पनि डुबानमा परेको छ। नारायणी नदीकिनारमा रहेका केही होटेल तथा घर डुबानमा परेपछि प्रहरीले स्थानीयको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा सारेको जनाएको छ।

पश्चिम नवलपरासीको सुस्तामा पनि नारायणी नदीको बाढी पसेको छ। बाढी बस्तीमा पसेपछि प्रहरीले स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको सुस्ता प्रहरी चौकीले जनाएको छ।

सुझावित समाचार