बाढीपहिरोको जोखिम बढेका २५ जिल्लामा आज सवारी आवागमन बन्द

शनिबार, १० असोज, २०८३
डिजिटल संस्करण

चार दिनदेखिको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि सरकारले मध्य र पश्चिम नेपालका २५ जिल्लामा शुक्रबार साँझदेखि बन्द गरेको सवारी आवागमन आज पनि कायमै हुने भएको छ ।

मनसुन प्रतिकार्य कमान्ड पोस्टको शुक्रबारको बैठकले धेरै वर्षा भएका र अझै निरन्तर वर्षा हुन सक्ने आकलन गरिएका २५ जिल्लालाई रेड अलर्टमा राख्दै शुक्रबार र शनिबार सवारी आवागमन बन्द गर्ने निर्णय गरेको थियो ।

केन्द्रमा गृह मन्त्रालय र विपत् प्राधिकरणसहितका निकाय सम्मिलित समिति छ भने जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा यो समिति छ । यसबाहेक पहेँलो रङले संकेत गरेर अर्लट भएका जिल्लामा भने रातिको समयमा सवारीसाधन बन्द गर्न र दिउँसोको समयमा अवस्था हरेर निर्णय लिन समितिलाई भनिएको छ ।

तराईका रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई रेड अलर्टमा राखेर सवारीसाधन बन्द गरिएको छ । त्यस्तै, पहाडी तथा भित्री मधेशका जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङ्जा, प्युठान, दाङ र सुर्खेतमा पनि रेड अलर्ट छ ।

यसैगरी, उच्च पहाडी तथा हिमाली जिल्ला गोरखा, लमजुङ मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बझाङ, बाजुरा र दार्चुलामा पनि आवागमन बन्द गरिएको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतले निरन्तरको वर्षाले ठुला राजमार्ग बन्द भइसकेको र अरू क्षेत्रमा पनि जोखिम बढेकाले निर्णय लिइएको बताइन् ।

‘धेरैजसो राजमार्ग पहाडी क्षेत्रसँग जोडिएका छन् । ‘पहाड फोडेर राजमार्ग बनेका छन्,’ उनले भनिन्, ‘निरन्तर पानी पर्दा पहिरो खस्न सक्ने र तराईमा बाढी, डुबान हुन सक्ने भएकाले सम्भावित क्षति रोक्न लामो तथा छोटो दूरीका सवारीसाधन रोक्न भनेका छौँ,’ उनले भनिन्, ‘रेड अलर्ट जारी नभएका ठाउँमा पनि जिल्लाले नै आवश्यकताअनुसार निर्णय गर्न सक्छन् ।’

सुझावित समाचार