प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेकाे सम्बोधनको पूर्णपाठ
प्रधानमन्त्री बालेन्द्र शाहले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आज बिहान सम्बोधन गरेका छन् । प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण भोटोकोशी नदीमा १० भदौमा आएको हिमालयन सुनामीको चेतावनीबारे विश्व समुदायलाई जानकारी दिएका छन् ।
प्रधानमन्त्रीले भने, ‘चार साताअघि, विश्वले नेपालको हिमाली समुदायहरूमा तीव्रताका साथ आएको विनाशकारी बाढीको भयावह दृश्य देख्यो, जसलाई धेरैले ‘हिमालयन सुनामी’ भनेका छन्। भोटेकोशी–त्रिशूली विपत् स्थानीय त्रासदी मात्रै थिएन, यो विश्वका लागि एउटा चेतावनी पनि थियो।’
महाधिवेशनका लागि नेपाली कांग्रेसद्वारा विभिन्न समितिहरू गठन
१५औँ महाधिवेशनका लागि नेपाली कांग्रेसले विभिन्न समितिहरू गठन गरेको छ । सभापति गगनकुमार थापाको अध्यक्षतामा केन्द्रीय निर्देशक समिति र अन्य समितिहरू गठन गरिएको छ ।
सभापति नेतृत्वको केन्द्रीय निर्देशक समितिमा ११ सदस्य र एक सदस्यसचिव राखिएको छ ।
आर्थिक व्यवस्थापन समितिको जिम्मेवारी कोषाध्यक्ष उमेश श्रेष्ठलाई दिइएको छ । प्रचार समितिको संयोजकमा देवराज चालिसे, सचिवालय व्यवस्थापन समितिको सभापतिमा उदयशमशेर जबरा, अतिथि सत्कारमा डिला संग्रौलालाई जिम्मेवारी दिइएको छ ।
गण्डकी र लुम्बिनीमा अत्यधिक वर्षा, कुन क्षेत्रमा कति पानी पर्यो ?
पछिल्लो २४ घण्टामा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि अत्यधिक वर्षा भएको छ। नेपाल मौसम विज्ञान विभागका स्वचालित वर्षा मापन केन्द्रको रेकर्डअनुसार बिहीबार साँझदेखि शुक्रबार साँझसम्म पाल्पाको अर्चलेमा २६७.४ मिलिमिटर वर्षा मापन भएको छ।
२४ घण्टामा १४० मिलिमिटरभन्दा बढी वर्षालाई अत्यधिक वर्षा मानिन्छ। यस आधारमा पाल्पाको अर्चलेमा अत्यधिक वर्षा भएको देखिन्छ। त्यस्तै, १०० मिलिमिटरभन्दा बढी वर्षा भएका धेरै केन्द्र छन्।
सात ठाउँमा पहिरो, पृथ्वी राजमार्ग ठप्प
लगातार वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङका सात ठाउँमा पहिरो खस्दा देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग ठप्प बनेको छ ।
दुई दिनदेखि परेको वर्षाका कारण बेनीघाट रोराङ गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोका कारण सडकमा क्षति पुगेको हो ।
बाढीपहिरोको जोखिम बढेपछि मध्य र पश्चिम नेपालका २५ जिल्लामा दुई दिन सवारी आवागमन बन्द
तीन दिनदेखिको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि सरकारले मध्य र पश्चिम नेपालका २५ जिल्लामा दुई दिन सवारी आवागमन बन्द गरेको छ ।
मनसुन प्रतिकार्य कमान्ड पोस्टको शुक्रबारको बैठकले धेरै वर्षा भएका र अझै निरन्तर वर्षा हुन सक्ने आकलन गरिएका २५ जिल्लालाई रेडअलर्टमा राख्दै शुक्रबार र शनिबार सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो । योसँगै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला मनसुन प्रतिकार्य कमान्ड पोस्टलाई सर्कुलर गरेको छ।
पहिरोले ग्यास आपूर्ति झन् कठिन, २९ बुलेट बाटोमै अलपत्र (उद्योग र बुलेटको सूचीसहित)
दुई दिनदेखि लगातार परेको वर्षाले काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्गमा अवरोध हुँदा ग्यास आपूर्ति झन् कठिन बनेको छ । केही दिनयता भारतबाट आयात बढाएर उपत्यकामा बिक्री पनि बढाइरहेको अवस्थामा शुक्रबार बिहानदेखि काठमाडौं जोड्ने मुख्य सडकहरू अवरुद्ध छन् ।
आयल निगम र उद्योगीबाट प्राप्त सूचीअनुसार शुक्रबार दिनभरमा वीरगन्ज नाकाबाट ग्यास बोकेका ४८ बुलेट भन्सार जाँचपास भएका छन् । यीमध्ये ३० वटा बुलेट धादिङ, काभ्रे, काठमाडौं र ललितपुरका उद्योगका हुन् । जसले काठमाडौं उपत्यकामा ग्यास भरेर पठाउने गरेका छन् ।
प्राप्त विवरणअनुसार शुक्रबार वीरगन्ज भन्सारबाट काठमाडौंको बालाजुस्थित नेपाल ग्यासका लागि सबैभन्दा धेरै सातवटा बुलेट पास भएका छन् । नेपाल ग्यासको नारायणी र गण्डकी शाखाका लागि थप एक–एक बुलेट पनि भन्सार पास भएका छन् । त्यस्तै, ललितपुरको चल्नाखेलमा उद्योग रहेको एभरेस्ट ग्यासको दुई, धादिङमा उद्योग रहेको साल्ट ट्रेडिङको एसटिसी ग्यास, श्री ग्यास र सुगम ग्यासको तीन–तीनवटा बुलेट भन्सार पास भए पनि प्लान्टसम्म आइपुगेका छैनन् ।
अख्तियारले पायो भ्रष्टाचारमा शंकित व्यक्तिको पोलिग्राफ परीक्षण गर्ने अधिकार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा शंकित व्यक्तिको पोलिग्राफ जाँच गर्ने अधिकार पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ संशोधन गरी आयोगलाई यस्तो अधिकार दिइएको छ।
बिहीबार राजपत्रमा प्रकाशित नियमावलीमा भनिएको छ, ‘भ्रष्टाचारसम्बन्धी शंकित व्यक्तिको पोलिग्राफ परीक्षण गर्न आवश्यक भएमा उपनियम १ बमोजिमको फरेन्सिक इकाइ वा प्रयोगशालामा परीक्षण गरिनेछ।’ बयानमा झुटो बोले–नबोलेको पत्ता लगाउन पोलिग्राफ परीक्षण गरिन्छ। आयोगले यसअघि पनि यस्तो परीक्षण गरे पनि नियमावलीमा यो विषय नहुँदा प्रमाणका लागि ग्राह्य हुने गरेको थिएन ।
सरकारद्वारा दलित समुदायका थर सूचीकरणको नयाँ विवरण सार्वजनिक
सरकारले दलित समुदायको नयाँ परिभाषा गर्दै थर सूचीकरणको नयाँ विवरण सार्वजनिक गरेको छ। गत साता बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको हो ।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गरी यससम्बन्धी निर्णय सार्वजनिक गरेको छ ।
बाढी-पहिरोका कारण २१ राजमार्ग अवरुद्ध
निरन्तरको वर्षापछि आएको बाढी–पहिरोका कारण २१ राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार कतिपय पूर्ण रूपमा त कतिपय आंशिक रूपमा अवरुद्ध छन्।
काठमाडौं उपत्यका प्रवेश गर्ने सबैजसो सडक अवरुद्ध छन्। कृष्णभिर क्षेत्रमा बारम्बार पहिरो गएका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। काठमाडौंबाट हेटौँडा जाने सडक पनि अधिकांश बन्द छन्। त्यस्तै, रोशी खोलाले अस्थायी डाइभर्सन बगाएपछि बिपी राजमार्ग पनि अवरुद्ध छ। काठमाडौं–टोखा–छहरे सडक रातिको समयमा बन्द गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले युद्धका सामग्री सहज रूपमा विश्वका एक ठाउँबाट अर्को ठाउँमा पुग्ने भए पनि किसानका लागि आवश्यक मल र इन्धन समयमै उपलब्ध हुन नसकेको भन्दै विश्वव्यापी आपूर्ति प्रणालीमाथि प्रश्न उठाएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अन्तरमहादेशीय क्षेप्यास्त्र, राइफल र गोलीहरू सीमापार गर्दै हरेक अवरोध र समयसीमा पार गर्ने गरेको, तर नेपालका किसानले आवश्यक समयमा बजारमूल्यमा मल वा इन्धनसमेत प्राप्त गर्न नसकेको बताए।
‘अन्तरमहादेशीय क्षेप्यास्त्रहरू समयमै पुग्छन्। राइफल र गोलीहरू सीमापार गर्छन्, हरेक अवरोध पार गर्छन् र हरेक समयसीमा पूरा गर्छन्। तर, नेपालका किसानले आवश्यक समयमा बजारमूल्यमा मल वा इन्धन प्राप्त गर्न सक्दैनन्,’ उनले भने।