पृथ्वी राजमार्गमा अर्को सूचना नभएसम्म सवारी आवागमन बन्द

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

लगातारको वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको पृथ्वी राजमार्गमा अर्को सूचना जारी नभएसम्म सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।

धादिङ जिल्ला र आसपासका क्षेत्रमा विगत दुई दिनदेखि निरन्तर वर्षा भइरहेको तथा राजमार्गका विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । आगामी केही दिनसम्म भारीदेखि अतिभारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान रहेकाले थप विपतजन्य जोखिम उत्पन्न हुन सक्ने भन्दै प्रशासनले राजमार्ग बन्द गर्ने निर्णय गरेको हो ।

यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले जारी गरेको सूचनामा उल्लेख छ ।

राजमार्गको अवस्था र मौसममा सुधार आएपछि अर्को सूचना जारी गरिने प्रशासनले जनाएको छ । आपतकालीन अवस्थाका लागि नेपाल प्रहरी हटलाइन १००, सशस्त्र प्रहरी बल १११४, जिल्ला आपतकालीन सञ्चालन केन्द्र १२३४ वा ०१०–५२१४४४, जिल्ला प्रहरी कार्यालय धादिङ ९८५१२२२८८० र जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ ९८५१५३२२५६४ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ ।

सुझावित समाचार