सिटिजन्स बैंक इन्टरनेसनलले अपांगता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरेको छ । यो सुविधाले कर्जा लिन आवश्यक लामो प्रक्रिया, कागजी काम तथा भौतिक उपस्थितिलाई सहज बनाउने उद्देश्य राखेको बैंकले जनाएको छ ।
कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसनल, राष्ट्रिय अपांग महासंघ नेपाल, विकास साझेदार संस्था, अपांगता भएका व्यक्ति तथा सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थिति थियो ।
‘स्वावलम्बन कर्जा’मार्फत योग्य अपांगता भएका व्यक्तिले इसेवाबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन् । यस सुविधाअन्तर्गत १० हजारदेखि दुई लाखसम्म कर्जा लिन सकिनेछ । कर्जाको ब्याजदर वार्षिक ९.९९ प्रतिशत र प्रशोधन शुल्क ०.७५ प्रतिशत रहने पनि बताइएको छ ।
कर्जाका लागि प्रयोगकर्ताले इसेवा खाता केवाइसी प्रमाणित भएको, नेपाल सरकारबाट जारी अपांगता परिचयपत्र भएको तथा तलब वा व्यवसायबाट नियमित आम्दानी भएको हुनुपर्नेछ । कर्जा स्वीकृति सम्बन्धित मूल्यांकन तथा लागू हुने नियम बैंकको सर्तअनुसार हुनेछ ।
त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत रोशन मानन्धरले अपांगता भएका व्यक्तिको औपचारिक कर्जामा पहुँच विस्तार गर्न इसेवासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । ‘अपांगता भएका व्यक्तिलाई औपचारिक कर्जामा पहुँच विस्तार गर्न सहकार्य गर्न पाउँदा हामी खुसी छौँ,’ मानन्धरले भने, ‘स्वावलम्बन कर्जाले उनीहरूको व्यक्तिगत तथा आर्थिक आवश्यकतालाई सहयोग गर्ने वित्तीय समाधान उपलब्ध गराउनेछ ।’
कम्पनीका अनुसार ‘स्वावलम्बन कर्जा’मार्फत डिजिटल प्रविधिको प्रयोग गर्दै अपांगता भएका व्यक्तिका लागि कर्जामा पहुँचलाई सरल र सहज बनाउन खोजिएको छ । यसले उनीहरूलाई वित्तीय सेवामा थप सहज रूपमा सहभागी हुन सहयोग पुग्ने विश्वास लिइएको छ ।