महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका– २ स्थित मदरसाबाट भदौ २७ गते शनिबार बिहानै भागेका तीन किशोरी अन्ततः घर फर्किएका छन्। आफन्त इन्डिया फाउन्डेसन, आफन्त नेपाल तथा भारतीय र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरूलाई असोज ५ गते घर फर्काइएको हो।
मदरसाबाट भागेका १५, १६ र १७ वर्षका तीन किशोरी भारतको लुधियानामा रहेको खुलेपछि उनीहरूको खोजी तथा उद्धारका लागि पहल गरिएको थियो। परिवारले दिएको सूचनाका आधारमा उनीहरूलाई ट्रेनबाट लुधियाना पुगेपछि आफन्तको घरमा राखिएको थियो।
किशोरीहरूलाई लुधियानासम्म पुर्याउन एक आफन्त युवकले सहयोग गरेको खुलेको छ। परिवारले ती युवकमाथि दबाब दिएपछि उनले किशोरीहरू चढेको ट्रेनको नाम, नम्बर र समयबारे जानकारी दिएका थिए। त्यसपछि आफन्त इन्डिया फाउन्डेसन र पञ्जाब प्रहरीसहितको टोलीले उनीहरूलाई मामाघरबाट उद्धार गरी भारतको दिल्लीस्थित नेपाली दूतावासमा पुर्याएको थियो।
दूतावासबाट आफन्त इन्डियाको सहजीकरणमा परिवारसँगै उनीहरूलाई गत सोमबार नेपाल फर्काई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको थियो। जिल्ला प्रहरी कार्यालयमा बयान लिएपछि किशोरीहरूलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
नेपाल फर्किएपछि किशोरीहरूले मदरसामा मोबाइलको विषयमा कुटपिट र गालीगलौज भएपछि रिसाएर मदरसा छाडेको प्रारम्भिक बयान दिएका छन्। मदरसामा विद्यार्थीलाई मोबाइल राख्न बन्देज रहे पनि आफूहरूसँग मोबाइल भेटिएपछि महिला शिक्षिकाले कुटपिट गरेको भन्दै आफूहरू मदरसा छाडेर भागेको उनीहरूको बयानमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक विश्वम्भरनाथ साहका अनुसार किशोरीहरूको बयान प्रारम्भिक चरणमा रहेको र थप बुझ्ने काम भइरहेको छ।
किशोरीहरूले आफूहरूलाई कुटपिट गरेपछि रिसले मदरसा छाडेको बताए पनि मदरसा पक्षले गालीगलौज गरेको आरोप अस्वीकार गरेको छ। मदरसामा नियमविपरीतका गतिविधि गरेपछि शिक्षिकाले गाली गरेर सम्झाउने र अनुशासनमा राख्ने प्रयास गरेको भए पनि कुटपिट वा यातना नदिएको मदरसाका सञ्चालक गुलाम मुस्तफाले बताएका छन्।
उनका अनुसार मदरसामा अध्ययन गर्ने सबै बालिकालाई आफ्नै सन्तानसरह पढाउने गरिएको छ। बालिकाहरूले गल्ती गरेपछि सम्झाउने र अनुशासनमा राख्न सामान्य नियम सिकाउने जिम्मेवारीसमेत शिक्षकको हुने उनले बताए।
बालिकाहरू मदरसाबाट भागेपछि स्थानीय प्रशासनले मदरसालाई अवैध भन्दै बन्द गराएको थियो। तर, मदरसा पक्षले आफूहरूले उक्त संस्थालाई ‘कोचिङ सेन्टर’का रूपमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गराएको र कोचिङ सेन्टरको प्यान कार्डसमेत रहेको दाबी गरेको छ।
सञ्चालक अन्सारीका अनुसार मदरसा दर्ताका लागि जलेश्वर नगरपालिकाको शिक्षा शाखामा वि.सं. २०७९ मै कागजात बुझाए पनि तत्कालीन सरोकारवाला अधिकारीहरूले दर्ता नगरेका हुन्। कुनै संस्थाको प्रक्रिया पूरा गर्न थप कागजात वा सुधार आवश्यक भए त्यसबारे जानकारी दिनुपर्ने भए पनि हालसम्म त्यस्तो जानकारी नदिइएको उनको भनाइ छ।
उनले आफूले बुझाएका कागजात जाँच गरी संस्थालाई वैधानिक रूपमा दर्ता गरिदिन नगरप्रमुख, प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित व्यक्ति तथा निकायसँग आग्रह गरेका छन्।