अढाई महिनामा आयल निगमलाई चार अर्ब ७५ करोड घाटा

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण
  • अन्तर्राष्ट्रिय बजारको बढ्दो मूल्य र प्रतिसिलिन्डर चार सय ११ रुपैयाँ घाटा रहेको ग्यास आयात बढाउँदा नोक्सानी चुलिएको निगमको तथ्यांक, आसन्न दसैँ–तिहारसम्म मूल्य नबढाउने योजना

आयल निगम लिमिटेडले चालू आर्थिक वर्ष ०८३/८४ को अढाई महिना (१ साउनदेखि आगामी १५ असोजसम्म)मा चार अर्ब ७५ करोड घाटा हुने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेअनुसार मूल्य समायोजन नहुनु र प्रतिसिलिन्डर चार सय ११ रुपैयाँ घाटामा बेचिरहेको ग्यास आयातसमेत बढाउनुपर्दा निगमको नोक्सानी चुलिएको हो ।

मासिक ४९ हजार पाँच सय टनसम्म ग्यास आयात गरिरहेको निगमले साउनमा ५७ हजार तीन सय १६ टन र भदौमा ५९ हजार आठ सय ३३ टन ग्यास आयात गरेको छ । नियमित मागभन्दा बढी आयात गरे पनि बजारमा ग्यास आपूर्ति भने सहज हुन सकेको छैन । अन्य पेट्रोलियमको आयात भने सामान्य अवस्थामै रहेको निगमले जनाएको छ । प्रत्येक १५ दिनमा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त हुने नयाँ मूल्यसूचीका आधारमा निगमले पाक्षिक नाफा–घाटा प्रक्षेपण गर्दै आएको छ । पछिल्लो समयको तथ्यांकअनुसार १ देखि १५ असोजसम्म मात्रै निगमलाई एक अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने अनुमान छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भने, ‘घाटामा रहेको ग्यास आयात उच्च छ भने अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन नहुँदा घाटा थपिएको छ ।’ पछिल्लो समय निरन्तर मूल्य बढेर आइरहेका कारण पनि घाटा बढेको उनले बताए ।

निगमले आसन्न दसैँ, तिहारसम्म पेट्रोलियम पदार्थको मूल्य नबढाउने योजनासमेत बनाएको छ । पेट्रोलियमको मूल्य बढे दसैँमा घर जाने यातायात भाडा बढाउने व्यवसायीले जानकारी गराइसकेका छन् । त्यस्तै, चाडपर्वमा मूल्यवृद्धि नियन्त्रणका लागि पनि इन्धनको भाउ दसैँ, तिहारसम्म बढाउन सक्ने अवस्था नरहेको एक अधिकारीले बताए । निगमले अन्तिमपटक १७ साउन रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । त्यतिवेला, पेट्रोल तीन रुपैयाँ, डिजेल तथा मट्टीतेल समान पाँच रुपैयाँ र हवाई इन्धन २० रुपैयाँ प्रतिलिटर बढाएको थियो । त्यतिवेला निर्धारित भएको प्रतिलिटर पेट्रोल, डिजेल, मट्टीतेल दुई सय रुपैयाँ तथा हवाई इन्धन दुई सय ४९ रुपैयाँ प्रतिलिटर मूल्य हालसम्म कायम छ ।

ग्यास आयात बढाइरहेको दाबी
आयल निगमले भारतबाट ग्यास आयात बढाइरहेको दाबी गरेको छ । निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले असोज लागेयता दैनिक एक सय ३० बुलेटभन्दा बढी ग्यास आयात भइरहेको बताए । ‘भारतबाट जतिसक्दो धेरै लोडिङ लिने प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘आयात भएको सबै ग्यास तुरुन्तै सिलिन्डरमा भरेर बजार पठाउने काम पनि भइरहेको छ ।’ उनका अनुसार पछिल्लो दिनमा काठमाडौं उपत्यकामा दैनिक ५० हजारभन्दा बढी सिलिन्डर बिक्रीका लागि पठाइएको छ ।

सुझावित समाचार