सडक निर्माण योजनाको ठेक्कामा ७३ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका कर्मचारीसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
आर्थिक वर्ष २०७८/०७९ मा त्रिपुरासुन्दरी– ६ स्थित हरियापानी पालुङ्ग माझफाल हुँदै रूकुमसम्म जोड्ने मोटरबाटो निर्माणको ठेक्कामा सबैभन्दा कम कबोल गर्नेलाई पाखा लगाएर बढी रकम कबोल गर्नेको बोलपत्र स्वीकृत गरेको अभियोगमा मंगलबार विशेष अदालतमा आरोपपत्र दायर भएको हो।
नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिरा चन्द्र धराला, बरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा, शिक्षा अधिकृत भिमबहादुर थापा, एमआइएस अपरेटर हरिचन्द्र बिष्ट, बोलपत्र मुल्यांकन समितिका सदस्य शिशिर कुमार गुरूङ, छल निर्माण सेवा प्रालि दुनै र उक्त कम्पनीका प्रोप्राइटर दिपचन्द्र रोकायालाई प्रतिवादी कायम गरिएको छ।
मूल्य अभिवृद्धि कर, पिएस र कन्टीजेन्सीसमेत गरी एक करोड आठ लाख २६ हजार ८९७ रुपैयाँ लागत अनुमान स्वीकृत भई योजना निर्माणको लागि २०७९ वैशाख २५ गते बोलपत्र आह्वान भएको थियो। सात वटा निर्माण व्यवसायी फर्मले वोलपत्र पेस गरेकोमा प्रतिवादीहरूले बोलपत्र मूल्यांकनको क्रममा समेत लक्षित बोलपत्रदाताबाहेकका अन्य बोलपत्रदातालाई बञ्चित गर्न प्रोप्राइटर–संचालकको नागरिकताको प्रमाणपत्रलाई शर्त बन्देज राखी बोलपत्रको मूल्याङ्कन प्रकृया अघि बढाएका थिए।
उनीहरुले मिलेमतोमा सवैभन्दा कम (३० लाख ९९ हजार ८१८ रूपैयाँ) कबोल गर्ने निर्माण सेवालाई अनुत्तिर्ण गरी सबैभन्दा बढी रकम (एक करोड चार लाख ६१ हजार ७७२ रूपैयाँ) कबोल गर्ने छल निर्माण सेवा प्रालि, दुनै डोल्पाको बोलपत्र स्वीकृत गरेका आरोपपत्रमा उल्लेख छ।
प्रतिवादीहरुले सबैभन्दा घटी र सबैभन्दा बढी रकम कबोल गर्ने बोलपत्रदाताहरुबिचको फरकबाट ७३ लाख ६१ हजार ९५३ रुपैयाँ रूपैयाँ हिनामिना, हानिनोक्सानी गरेको अख्तियारको दाबी छ।