स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ जना सदस्य नियुक्त गरेको छ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ को (च) र (ज) बमोजिम रिक्त सदस्य पदका लागि भएको अन्तर्वार्ताबाट योग्यताक्रमअनुसार सिफारिस भएका व्यक्तिहरूलाई सदस्य पदमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।
नियुक्त हुनेमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दीपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी रहेका छन्। नवनियुक्त सदस्यहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र अस्पतालका अध्यक्ष प्रा.डा. योगेन्द्रप्रसाद सिंहसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
मन्त्रालयका अनुसार रिक्त सदस्य पदमा नियुक्तिका लागि अन्तर्वार्ताबाट योग्यताक्रमअनुसार सिफारिस भएकाहरूलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरिएको हो।