एनआइसी एसिया बैंकले देशका विभिन्न चारवटा सामुदायिक विद्यालयलाई आवश्यक सामग्री सहयोग गरेको छ । बैंकले यो सहयोग संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरेको बताएको छ ।
बैंकका अनुसार धनगढीमाई नगरपालिका– ९, सिराहास्थित श्री महावीर मावि, ठाकुरबाबा नगरपालिका– २, कर्मला, बर्दियास्थित श्री नेपाल राष्ट्रिय मावि, इटहरी उपमहानगरपालिका– १९, जब्दी सुनसरीस्थित श्री पञ्चायत रजतजयन्ती आधारभूत विद्यालय र सुनवर्षी नगरपालिका– २, अमरदह, मोरङस्थित श्री वीरेन्द्र सार्वजनिक विद्यालयलाई सहयोग गरेको बताएको छ । विद्यार्थीको पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ ल्यापटप, डेस्कटप कम्प्युटर र प्रोजेक्टर उपलब्ध गराएको हो ।
बैंकका लहान सर्कल हेड लेखराज पौडेल र लहान शाखा प्रमुख राजेश्वर शाहले महावीर माविका प्रधानाध्यापक रामकुमार ठाकुरलाई एक थान डेस्कटप कम्प्युटर र एक थान प्रोजेक्टर हस्तान्तरण गरे ।
त्यसैगरी, बैंकका मगरागढी शाखा प्रमुख महेन्द्रबहादुर शाहीले नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक कलमबहादुर शाहीलाई एक थान ल्यापटप र दुई थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरेका छन् ।
साथै, इटहरी सर्कल हेड विशाल घिमिरे र तरहरा शाखा प्रमुख सन्देश भण्डारीले पञ्चायत रजतजयन्ती आधारभूत विद्यालयका प्रधानाध्यापक गोपीकृष्ण दंगाललाई दुई थान ल्यापटप र तीन थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरेका छन् । बैंकका अनुसार वीरेन्द्र सार्वजनिक विद्यालयलाई पनि बैंकका दमक सर्कल हेड भूपेन्द्र पौडेलले उक्त विद्यालयका प्रधानाध्यापक धनबहादुर बस्नेतलाई दुई थान ल्यापटप र दुई थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरेका छन् ।