शुक्रबारदेखि तीन दिन देशभर वर्षाको प्रक्षेपण, केही क्षेत्रमा अत्यधिक वर्षाको आकलन

सोमबार, ५ असोज, २०८३
डिजिटल संस्करण

आगामी शुक्रबारदेखि तीन दिन देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना छ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै उत्तर अन्डमान सागर तथा आसपासमा विकसित न्यूनचापीय प्रणालीका कारण आइतबारसम्म वर्षा हुने बताएको हो।

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार मधेश प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका केही स्थानमा समेत भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भूभाग आसपास छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र भई पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको महाशाखाले जनाएको छ।

यसको प्रभावले बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने महाशाखाको अनुमान छ। वर्षाका कारण मुलुकका विभिन्न क्षेत्रमा भू–क्षय, बाढी, पहिरो तथा ग्रेगन बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको महाशाखाले जनाएको छ। विशेष गरी सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने तथा ठुला र साना नदी, नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने चेतावनी दिइएको छ।

भारी वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटनलगायत नदी आसपासमा निर्माण भइरहेका कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाले स्थानीय तह तथा सम्बन्धित निकायलाई वर्षाका कारण हुन सक्ने सम्भावित क्षतिप्रति सचेत रहन तथा आवश्यक तयारी गर्नसमेत अनुरोध गरेको छ।

हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मौसम प्रणालीको प्रभाव देशका हिमाली भू–भागमा समेत देखिन सक्ने महाशाखाले जनाएको छ। मौसम प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा भारीदेखि धेरै भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मौसम पूर्वानुमान महाशाखाले मनसुन प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। प्रणालीको अवस्थाअनुसार मौसमसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गरिने भएकाले महाशाखाबाट जारी हुने नियमित मौसम पूर्वानुमान तथा अद्यावधिक सूचना हेर्न आग्रह गरिएको छ।

सुझावित समाचार