रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५० मेगावाट क्षमताको जल्दिगाड जलविद्युत् आयोजनाका लागि चार अर्ब ६० करोड रुपैयाँ लगानी जुटेको छ ।
सांग्रिला हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्ने उक्त आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको अगुवाइमा नेपाल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले संयुक्त रूपमा तीन अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । बाँकी एक अर्ब २३ करोड ७१ लाख रुपैयाँ प्रवर्द्धकहरूको इक्विटी लगानी रहने बताइएको छ ।
आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा सांग्रिला हाइड्रोपावरका अध्यक्ष खगेन्द्र न्यौपाने र रावा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका छन् । जल्दिगाड नदीमा निर्माण हुने आयोजनाबाट वार्षिक १३३.४५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने र आयोजना निर्माण ३३ महिनाभित्र सकिने बताइएको छ ।
आयोजनाका लागि आवश्यक जग्गा खरिदलगायत अधिकांश पूर्वतयारीका काम सम्पन्न भइसकेकाले वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै निर्माणकार्यलाई तीव्रता दिइने कम्पनीका प्रबन्ध सञ्चालक कृष्णप्रसाद घिमिरेले बताए ।