यस्ता छन् पर्यटकलक्षित १० देखि २५ प्रतिशतसम्म छुट प्याकेज
- पोखराका सबै होटेलमा २५ प्रतिशत छुट, पहिलो उडानमार्फत आउने पर्यटकलाई एक रात बस्न र खान निःशुल्क गर्ने तयारी
- रेस्टुरेन्टको मेनुमा १५ देखि २० प्रतिशत छुट
- बेगनासका होटेल र रेस्टुरेन्टमा २५ प्रतिशत छुट
- पदयात्रामा १५–२० प्रतिशत छुट, व्यवसायीकै तर्फबाट गाडी
- अल्ट्रालाइटमा १० प्रतिशत छुट
- गुडविल, रानीवन अर्किड र टीका रिसोर्टमा दुई कोठा तीन महिनाका लागि निःशुल्क
फ्लाई दुबईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ७ असोजमा उडान गर्ने भएपछि पोखराका पर्यटन व्यवसायीले १० देखि २५ प्रतिशतसम्म छुट दिने गरी प्याकेज घोषणा गरेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उडानलाई दिगो बनाउन के–कसरी अघि बढ्ने भन्ने सम्बन्धमा सरोकारवाला एवं पर्यटन व्यवसायीसँग आयोजना गरेको छलफल कार्यक्रममा फ्लाई दुबईको उडानमार्फत पोखरा आउने सबै यात्रु एवं पर्यटकलाई सो छुट प्रदान गरिने घोषणा गरिएको हो । होटेल संघले उडानमार्फत पोखरा आउनेलाई होटेलको मेनुमा २५ प्रतिशतसम्म छुट दिने अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
पहिलो उडानमार्फत पोखरा आउने पर्यटकलाई भने एक रातका लागि बस्ने र खाने सुविधा निःशुल्क गर्ने विषयमा समेत सकारात्मक रहेको उनले जानकारी दिए । रेवान पोखराले १५ देखि २० प्रतिशत छुट दिने अध्यक्ष वसन्त गौतमले जानकारी दिए । बेगनास होटेल तथा रेस्टुरेन्टमा २५ प्रतिशत छुट दिने गरी व्यवस्था मिलाएको होटेल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष सूर्यबहादुर लामिछानेले जानकारी दिए ।
लामिछानेका अनुसार एकजनालाई पाँच दिनसम्म छुट दिने गरी व्यवस्था मिलाएको जानकारी दिए । टान गण्डकीले पदयात्राको फुल प्याकेजमा १५ देखि २० प्रतिशतसम्म छुट दिने अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए । यसका साथै पहिलो उडानमा आउने पर्यटकलाई तालपारि काडे–अस्ट्रेलियन क्याम्प–धम्पुस हुँदै एक दिनको पदयात्राका लागि आवश्यक गाडीको व्यवस्था गर्ने बताए । अल्ट्रालाइटले १० प्रतिशत, नाट्टा गण्डकीले समेत टुर प्याकेजमा छुटको व्यवस्था गर्ने अध्यक्ष संगीता पौडेलले जानकारी दिइन् । यसका अलावा व्यवसायीले आफ्ना होटेलमा व्यक्तिगत छुटसमेत दिने भएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भन्छन्–
उडानलाई व्यवस्थित बनाउन सरोकारवाला सबै निकाय तथा संघ–संस्था समेटेर प्रदेश सरकारले एक समिति बनाउनेछ । पहिलो चरणमा आउँदो ६ महिनाका लागि उडानतालिका फ्लाई दुबईले निकालिसकेकाले त्यसलाई सफल बनाउन सरोकारवाला सबै निकाय मिलेर अघि बढ्नुपर्छ ।
यसका लागि सरकारी तवरबाट गर्नुपर्ने काम प्रदेश सरकार र व्यवसायीले गर्नुपर्ने काम व्यवसायी मिलेर गर्ने गरी अघि बढ्नुपर्छ । हामीले हाल अरू कुनै कुराभन्दा पनि ६ महिनाको दैनिक तालिकालाई शतप्रतिशत बनाउने गरी अघि बढ्नुपर्छ । यसका लागि सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अघि बढ्न आवश्यक छ ।