संविधान बलियो बनाउनु हाम्रो दायित्व हो : मुख्यमन्त्री भट्ट

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेपालको संविधानले महिला, दलित, मधेशीलगायत पछाडि पारिएका समुदायलाई अधिकारसम्पन्न बनाएको बताएका छन्। परम्परागत राज्यसत्ताबाट उत्पीडित महिला, दलित, मधेशीलगायत समुदायलाई अधिकारसम्पन्न बनाउनुका साथै राज्यको विभेदकारी नजरबाट उपेक्षामा परेका सेती, महाकाली र कर्णालीको भूगोलको पहिचानलाई संस्थागत गरेको संविधानको संरक्षण गर्न जरुरी रहेको उनले बताए।

संविधान दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री भट्टले सबै राजनीतिक धाराको पहिचानको प्रतिबिम्बका रूपमा संविधान उत्कृष्ट रहेको बताए। संविधानको यात्रा निकै जटिल रहेको उल्लेख गर्दै उनले संविधानलाई प्रयोगको शैशवकालमै घाँटी निमोठ्ने प्रयाससमेत भएको बताए। संविधानको संरक्षण गर्नु सबैको दायित्व रहेको उनले बताए।

‘सेती, महाकाली र कर्णालीलाई काँखेतिर हेप्ने, विभेद गर्ने र कहिल्यै पनि नेपालको अभिन्न अंग सम्झनै नदिने विभेदकारी राज्यको नजरबाट यो पनि नेपालको सम्मानित अंग हो भनेर हाम्रो पहिचानलाई संस्थागत गरेको छ,’ मुख्यमन्त्री भट्टले भने, ‘सबै भाषाभाषी, धर्म, संस्कृतिलाई एउटै मालामा उन्ने सप्तपदी राष्ट्रियताको संरक्षण गर्ने संविधान हामीले पाएका छौँ। त्यसैले संविधान जोगाउन जरुरी छ।’

राजा, महाराजाको हुकुम प्रमाणीबाट नभई नेपाली जनताका प्रतिनिधिले बनाएको यो संविधान अधिकार, अन्तर्वस्तु, निर्माण प्रक्रिया, संवाद र सहकार्यको दृष्टिले युगान्तकारी कार्यभारको संगतिपूर्ण दस्तावेजका रूपमा रहेको उनले बताए।

‘मन्त्रीका कर्महरू, मुख्यमन्त्रीका कर्महरू, प्रधानमन्त्रीका कर्महरू, सांसदका कर्महरू, शासक, प्रशासकका कर्महरूले यो संविधानको गरिमामा आँच नपुर्याओस्। हामी सबैले आजको दिनमा यो संकल्प गरौँ,’ मुख्यमन्त्री भट्टले भने। कार्यक्रममा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले संविधानपछि मुलुकमा केही पनि भएन भनेर जनता भड्काउने काम भइरहेको बताए। संविधानमा प्राप्त अधिकारबाट अब अवसरको यात्रा सुरु गर्नुपर्ने उनको भनाइ थियो।

सुझावित समाचार