वीरगन्ज नाका र सहरमा जडान भएका ३४ सिसिटिभी क्यामेरा सञ्चालनविहीन

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण

वीरगन्ज महानगरपालिकाभित्रका विभिन्न स्थानसँगै नाकाको निगरानीका लागि जडान गरिएका सिसिटिभी क्यामेरामध्ये ३४ वटा सञ्चालनविहीन अवस्थामा रहेका छन्। पर्सा प्रहरीले दिएको जानकारीअनुसार अहिलेसम्म जडान गरिएका २०५ वटा सिसिटिभी क्यामेरामध्ये ३४ वटा सञ्चालनविहीन अवस्थामा रहेका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साले कन्ट्रोल रुममार्फत सहरमा जडान गरिएका सिसिटिभी क्यामेराको रेखदेख गर्दै आएको छ। पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगन्जलाई सिसिटिभी क्यामेराको निगरानीमा राख्न वीरगन्ज महानगरपालिका, वीरगन्ज उद्योग वाणिज्य संघअन्तर्गतको सेफर वीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साबिच सम्झौता भएको छ।

सम्झौताअनुसार वीरगन्ज महानगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने, अपुग रकमको जोहो गर्न सेफर वीरगन्जले बैंक तथा वित्तीय संघसंस्थासँग समन्वय गर्ने र जिल्ला प्रहरी कार्यालय पर्साले जडान गरिएका सिसिटिभी क्यामेराको कन्ट्रोल रुम तथा रेखदेखको जिम्मेवारी लिने व्यवस्था गरिएको छ।

वीरगन्जलाई सुरक्षित बनाउन विगत लामो समयदेखि यी तीनवटै संस्थाले सामूहिक रूपमा सिसिटिभी क्यामेरा जडान तथा सञ्चालनको अभियानमा सहकार्य गर्दै आएका छन्।

प्रहरी अधिकारीहरूका अनुसार सिसिटिभी क्यामेराको सहयोगमा चोरी भएका मोटरसाइकल बरामद गर्न तथा सवारी दुर्घटनाका दोषी पहिचान गर्न सहज भएको छ। सीमावर्ती सहर वीरगन्जमा भारतीय आपराधिक समूहबाट समेत विभिन्न घटना हुने गरेका कारण सुरक्षा तथा अनुसन्धानका लागि सिसिटिभी क्यामेरा प्रभावकारी माध्यम बनेको प्रहरीको भनाइ छ।

सिसिटिभी क्यामेराले अपराध रोकथाम तथा नियन्त्रणसँगै घटनाको अनुसन्धान र प्रमाण संकलनमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने प्रहरी अधिकारीहरू बताउँछन्।

कहाँ कति सिसिटिभी क्यामेरा ?

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जिल्लामा जडान गरिएका २०५ वटा सिसिटिभी क्यामेरामध्ये २८ वटा सञ्चालनमा रहेको अवस्था छ। नगर क्षेत्र र नाकामा १७७ वटा क्यामेरा जडान गरिएकामा ३४ वटा सञ्चालनविहीन रहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए।

उनका अनुसार नगर क्षेत्र तथा नाकामा गरी १४४ वटा सिसिटिभी क्यामेरा सञ्चालनमा रहेका छन्।

सुझावित समाचार