बर्दियाको राजापुर र गेरुवामा रहेको परम्परागत कुलोलाई आधुनिक बनाउन राजापुर सिँचाइ आयोजनाले गेरुवा गाउँपालिका– २, सरखोलमा सेटलिङ बेसिन (बालुवा थिग्य्राउने संरचना) निर्माणको काम गरिरहेको छ ।
अन्नको भण्डारसमेत भनेर चिनिने राजापुर र गेरुवामा सिँचाइ सहज रूपमा पुर्याउन राजापुर सिँचाइ आयोजनाले नहर निर्माणको काम गरिरहेको छ ।
एसियाली विकास बैंकको ऋण सहयोग बन्न लागेको सेटलिङ बेसिन (बालुवा थिग्य्राउने संरचना) संरचना निर्माणको काम अहिलेसम्म २५ प्रतिशत सम्पन्न भएको आयोजनाको कार्यालयले जनाएको छ । नहर निर्माणको काम समयमा सम्पन्न हुने सकेमा राजापुर र गेरुवाको १६ हजार हेक्टरमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउन सकिन्छ ।
डिएनसी/ भिसान /केसिडिसी जेभीले सेटलिङ बेसिन (बालुवा थिग्य्राउने संरचना) निर्माणको ठेक्का १० असार ०८२ मा पाएको थियो । निर्माण कम्पनीले ४३ करोड ६९ लाख ५९ हजारमा पाएको ठेक्काको काम ९ पुस ०८४ मा सम्पन्न गर्नुपर्ने कार्यालयले जनाएको छ ।
राजापुर सिँचाइ आयोजनाका प्रमुख प्रदीप बान्तवाले सिँचाइको व्यवस्थापन गर्न गेरुवा गाउँपालिका– ४, चारगाउँ र राजापुर नगरपालिका– २, नयाँगाउँमा इस्केपको काम सम्पन्न भएर नहरमा पानी सञ्चालन भइरहेको बताए । सन् २०३० सम्ममा सम्पन्न गर्ने गरी अगाडि बढेको आयोजनाको कामको दुईवटा टेन्डर भएको राजापुर सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख प्रदीप बान्तवाले बताए ।
उनले भने, ‘सिँचाइ व्यवस्थापनको काम व्यवस्थित रूपमा अगाडि बढाएर कर्णाली नदीको पानी वर्षभरि नै नहरमा बग्ने गरी ल्याउन खोजिएको छ । सिँचाइ व्यवस्थापनको कामलाई सही ढंगले अगाडि बढाउन सके यसले यहाँ स्थानीयको जीवनस्तरमा सकारात्मक प्रभाव पार्नेछ ।’
गोला शाखा कुलो जल उपभोक्ता संस्थाका अध्यक्ष धनबहादुर शाहीले परम्परागत कुलो आधुनिक बनाएपछि स्थानीयले वर्षौँदेखि भोग्दै आएको समस्याको अन्त्य भएर वर्षभरि कुलोमा पानी आउने बताए।
‘बर्सेनि खेती गर्ने समयमा पानीको अभाव हुँदा कर्णाली नदीको पानी कुलोमा ल्याउन हजारौँ स्थानीयले बर्सेनि श्रमदान गर्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘अब कुलोलाई आधुनिक बनाउन सेटलिङ बेसिन निर्माण भएपछि खेतमा वर्षैभरि पानी आउनेछ भने पानीसँगै खेतमा बालुवा आउन समस्या समाधान हुनेछ ।’
खेती लगाउने समयमा पानीको अभाव हुँदा नहरमा पानी ल्याउन स्थानीयले हरेक वर्ष ठुलो मात्रामा श्रमदान गर्नुपर्ने अवस्था थियो। कुलोको संरचना कमजोर हुँदा पटकपटक कुलोको ढ्याम पनि भत्किने समस्या रहेको थियो । तर, अब नहरको संरचनालाई आधुनिक बनाउँदा कुलोको ढ्याम बलियो भएर कुलोको ढ्याम भत्किने समस्याको अन्त्य हुने स्थानीयहरूको बुझाइ रहेको छ ।
राजापुर सिँचाइ आयोजनाले सेटलिङ बेसिन, एप्रोच च्यानल मर्मत तथा निर्माण, इन्टेकको स्तरोन्नति र भत्किएको नहरको मर्मतसमेत गर्दै आएको छ ।