एक राउन्ड गोलीसहित कटुवा पेस्तोल बरामद

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण

रौतहटको गरुडा नगरपालिका– ७, भिमडावरमा लगातार तीनवटा घरमा चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले लोडेड कटुवा पेस्तोल बरामद गरेको छ। चोरी भएका घरमध्ये एक घरको बरन्डामा रहेको खाटबाट प्रहरीले एक राउन्ड गोलीसहित पेस्तोल बरामद गरेको हो।

शुक्रबार बिहान स्थानीय दयाराम साहको घरको पछाडिको ढोकाको आग्लो भाँचिएको अवस्थामा चोरी भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गर्ने क्रममा घरबाट रेडमी, ओपो र रियलमी ब्रान्डका तीन थान मोबाइल चोरी भएको पत्ता लगाएको जनाएको छ।

त्यसैगरी स्थानीय मनोज साहको घरमा छतको ढोकाबाट प्रवेश गरी कोठाको आग्लो निकालेर दराजमा राखिएको पर्सबाट करिब पाँच हजार रुपैयाँ चोरी भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकरप्रसाद आचार्यले बताए।रामाज्ञा साहको घरमा पनि माथिल्लो ढोकाबाट प्रवेश गरी टिनको बाकसभित्र राखिएको पर्सबाट आठ हजार रुपैयाँ नगद र एक थान भिभो मोबाइल चोरी भएको प्रहरीले जनाएको छ।

एकै क्षेत्रमा तीनवटा घरमा चोरी भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट इन्स्पेक्टर उज्ज्वल क्षेत्रीको कमान्डमा प्रहरी टोली परिचालन गरिएको थियो। चोरीको घटनाबारे अनुसन्धान गर्ने क्रममा दयाराम साहको खपडाको छानो भएको भुइँघरको बरन्डामा राखिएको खाटबाट लोडेड कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पेस्तोलमा एक राउन्ड लाइभ राउन्डसमेत लोड गरिएको अवस्थामा थियो। हतियार कसले र किन त्यहाँ राखेको हो भन्ने खुलेको छैन। रौतहट प्रहरी प्रमुख एसपी सीताराम रिजालले बेवारिसे अवस्थामा रहेको जस्तो देखिने लोडेड कटुवा पेस्तोल बरामद भएको पुष्टि गरे। उनका अनुसार चोरीका घटनासँग हतियारको सम्बन्ध रहे–नरहेको विषयमा समेत अनुसन्धान भइरहेको छ। तीनवटै घरमा भएको चोरीका घटनामा हालसम्म कसैलाई पक्राउ गरिएको छैन। प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी तथा बरामद हतियारको स्रोत र प्रयोगबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

सुझावित समाचार