बाढी प्रभावित क्षेत्रमा भेटेरिनरी एसोसियसनको सहयोग

बिहिबार, १ असोज, २०८३
डिजिटल संस्करण

भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा नेपाल भेटेरिनरी एसोसिएसनले तेस्रोपटक राहत वितरण तथा पशुपन्छी स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालन गरेको छ।

एसोसिएसनको ९ सदस्यीय टोलीले भदौ २९ देखि ३१ गतेसम्म रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा पुगेर मानवीय सहायता तथा पशुपन्छीका लागि औषधि, फिड सप्लिमेन्ट र आवश्यक उपकरण हस्तान्तरण गरेको हो। टोलीले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गर्दै पशुधनमा भएको क्षति, उद्धार तथा उपचारको अवस्था र बाढीपछि फैलिन सक्ने संक्रामक रोगको जोखिमबारे समेत जानकारी संकलन गरेको थियो।

एसोसिएसनका केन्द्रीय अध्यक्ष डा. केदार सुवेदीको नेतृत्वमा महासचिव डा. शंकर न्यौपाने, पूर्वअध्यक्ष डा. शीतलकाजी श्रेष्ठ, सचिव डा. विशाल पोख्रेल, कोषाध्यक्ष डा. विकास श्रेष्ठ र पूर्वकेन्द्रीय सदस्य डा. राकेश चन्दसहितको टोलीले रसुवाको गोसाइँकुण्ड, कालिका, उत्तरगया र नौकुण्ड, धादिङको गल्छी तथा नुवाकोटको विदुर र बेलकोटगढी क्षेत्रमा स्थलगत अनुगमन तथा सहयोग गरेको थियो। कार्यक्रममा म्याजिक मार्बल फाउन्डेसन नेपालको समेत सहभागिता थियो।

एसोसिएसनले पुनः संकलन गरेको प्रारम्भिक जानकारीअनुसार रसुवा तथा नुवाकोट क्षेत्रमा मात्रै करिब ६०० भैँसी, १० हजार सुँगुर–बंगुर तथा करिब २ लाख व्यावसायिक फार्मका कुखुरा बाढीका कारण नष्ट भएको छ।

बाढीका कारण घरबारविहीन भएका एसोसिएसनका सदस्य डा. सुदीप कोइराला र ड. तुल्सीराम गम्पोका परिवारलाई एसोसिएसनका तर्फबाट प्रतिव्यक्ति १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो। सो अवसरमा एसोसिएसनका केन्द्रीय अध्यक्ष डा. केदार सुवेदीले व्यक्तिगत तर्फबाट समेत दुवै सदस्यलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ सहयोग गरे।

सुझावित समाचार