रास्वपा सांसद विपिनकुमार आचार्यले फरक विचार राखेकै कारण सांसदहरूलाई लक्षित गरी हिंसात्मक धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सभामुखसमक्ष संसद्ले तथ्यमा आधारित भएर बोल्ने प्रत्येक सांसदलाई निर्भीक भएर आफ्नो धारणा राख्ने वातावरण बनाउनुपर्ने मागसमेत गरे। ‘बोल्न नडराउनु, हामी तिमीसँगै छौँ’ भन्ने सन्देश संसद्ले आफ्ना सांसदहरूलाई दिनुपर्ने उनको भनाइ थियो।
सिंहदरबारको गेटअगाडि सांसदहरूलाई लतार्ने, घिसार्ने, घर जलाउने तथा रक्तपात मच्चाउनेजस्ता धम्की सार्वजनिक रूपमा आउनु गम्भीर विषय भएको उनकाे भनाइ छ । उनले अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक सहिष्णुताको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै फरक मत राख्ने अधिकारको सम्मान गर्नुपर्ने बताए।
नेपालको संविधानले समेत अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उनले स्मरण गराए।यस्ता अतिवादी धम्की दिने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन आफूले गृहमन्त्री र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गरिसकेको उनले जानकारी दिए।