- अर्जेन्टिनी फुटबल महासंघले बेनिनविरुद्धको मैत्रीपूर्ण खेलका लागि सन्न्यास लिइसकेका लियोनल मेसीसहितको टोली घोषणा गरेको छ
अर्जेन्टिनी फुटबल महासंघले आगामी ६ अक्टोबरमा विश्व च्याम्पियन पूर्वकप्तान लियोनल मेसीलाई बिदाइ गर्ने भएको छ । अर्जेन्टिनाले फिफा विन्डोअन्तर्गत बेनिनसँग मैत्रीपूर्ण खेल खेल्दै छ । यस खेलमा महासंघले मेसीलाई टोलीमा समावेश गर्दै औपचारिक रूपमा बिदाइ गर्ने जनाएको छ । महासंघका अध्यक्ष क्लाडियोले अर्जेन्टिनी फुटबलकै महान् खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गर्दै भव्य बिदाइ कार्यक्रम तय गरिएको बताएका छन् । ३९ वर्षीय मेसीले महासंघको प्रस्तावबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
‘हामीले मेसीलाई खेल्न निमन्त्रणा गरेका छौँ । उनीजत्तिको महान् खेलाडीलाई राष्ट्रिय टोलीबाट अन्तिमपटक खेल्दै बिदाइ गर्नुपर्ने हामीहरूको सपना हो,’ क्लाडियोले भने, ‘हामीलाई आशा छ– मेसीले यस प्रस्वाव स्वीकार गर्नेछन् ।’ महासंघले मेसीलाई समेत समावेश गर्दै अर्जेन्टिनाको प्रारम्भिक टोली बिहीबार सार्वजनिक गरेको हो । मेसीले गत १५ भदौमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका थिए । करिअरमा उनले राष्ट्रिय टोलीबाट दोस्रोपटक सन्न्यास लिएका हुन् । सन् २०१६ मा उनले विश्वकप तथा कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि अर्जेन्टिनालाई दिलाउन नसकेको जनाउँदै पहिलोपटक सन्न्यास लिएका थिए । अर्जेन्टिनी समर्थकहरूको आग्रहमा उनले सन्न्यास फिर्ता लिए । सन्न्यास फिर्ता लिएको १० वर्षमा मेसीले अर्जेन्टिनालाई दुईपटक फिफा विश्वकपको फाइनलमा पुर्याए । सन् २०२२ मा कतारमा भएको विश्वकप फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा हराउँदै मेसीले अर्जेन्टिनालाई सन् १९८६ पछि विश्व च्याम्पियन बनाए । गत जुन–जुलाईमा अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गरेको २३औँ विश्वकपमा उनकै कप्तानीमा अर्जेन्टिना फाइनलमा पुगेको थियो । तर, फाइनलमा खराब प्रदर्शन हुँदा अर्जेन्टिना पराजित भयो ।
जसका कारण मेसीले अर्जेन्टिनालाई लगातार दोस्रोपटक विश्वकप दिलाउन सकेनन् । उनले सो विश्वकपमा आठ गोल गरेका थिए । आठपटकका बालोन डि’अर विजेता तथा हाल इन्टर मियामीबाट खेलिरहेका मेसी अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ता हुन् । उनले २०७ अन्तर्राष्ट्रिय खेलमा १२५ गोल गरेका छन् ।
८५ हजार दर्शक अट्ने रंगशालामा खेल
फिफा विन्डोअन्तर्गत अर्जेन्टिनाले २१ सेप्टेम्बरदेखि ६ अक्टोबरसम्म तीन मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । फिफा विश्वकप २०२६ पछिको पहिलो खेल शृंखला रहेको मैत्रीपूर्णमा खेलमा बेनिनसँगै अर्जेन्टिनाले ३० सेप्टेम्बरमा बोलिभिया र ६ अक्टोबरमा बुर्किना फासोसँग खेल्ने तालिका छ । यी सबै मैत्रीपूर्ण खेल अर्जेन्टिनामै आयोजना हुनेछ । महासंघले मेसीको बिदाइ खेल ब्युनस आयर्समा गर्ने योजना बनाएको छ । यो रंगशालाको ८५ हजार दर्शक क्षमता रहेको छ ।
विश्वकप फाइनलपछिको झडपका कारण १० खेलको प्रतिबन्धमा परेका लेआन्द्रो पारेदेस र सात खेलको प्रतिबन्धमा परेका नहुएल मोलिना बिदाइ खेलमा उपलब्ध हुनेछैनन् ।