सेरा नामको एक सिंहले भर्खरै सिकार गर्न सुरु गरेको थियो । तर, ऊ एकपछि अर्को सिकारमा असफल भइरहेको थियो । उसको असफलतामा हाप्सिला (हाइना)हरू हाँसेर खिल्ली उडाउँथे । यसले गर्दा सेरा निकै दुःखी थियो । हाप्सिलाहरूले आफ्नो खिल्ली उडाउँदा सेरा गर्जेर उनीहरूलाई तर्साउने प्रयास त गर्थ्यो, तर बदमास हाप्सिलाहरू झनै जोडतोडले हाँसेर सेरालाई गिज्याउँथे । सेराका समूहका सिंहहरू उसलाई हाप्सिलामाथि ध्यान नदिन सल्लाह दिन्थे, तर ऊ जबजब सिकार गर्न जान्थ्यो, तबतब तिनै हाप्सिलाहरूको हाँसो उसको कानमा गुन्जिरहन्थ्यो ।
दिनदिनैको असफलता र हाप्सिलाहरूको हाँसोले सेराले आफूलाई साँच्चैको असफल सिकारी ठान्न थाल्यो । जसले गर्दा निराश भएर ऊ अब सिकारको प्रयास नै नगर्ने विषयमा सोच्न थाल्यो । यो कुरा सेराकी आमाले थाहा पाई । ऊ आफ्नो समूहकी सबैभन्दा सफल सिकारी मानिन्थी । उसले एक रात सेरालाई बोलाई र भनी– सिकारका केही प्रयासमा असफल भयौ भन्दैमा तिमी निराश नबन । हामी सबै यो अवस्थाबाट गुज्रिएका छौँ । म पनि कैयौँपटक असफल भएकी थिएँ । सानोतिनो सिकारसमेत गर्न सक्दिनथेँ ।
हाप्सिलाहरू ममाथि पनि खुब हाँस्थे । त्यतिखेर मैले सिकार गर्न छाडिदिने हो भने ती हाप्सिलाहरूकै जित हुनेछ भन्ने बुझेँ । त्यसैले, तिमी पनि खुब मन लगाएर सिकारका लागि एकपछि अर्को कोसिस जारी राख, अवश्य पनि तिमी एक दिन कुशल सिकारी बन्नेछौ । अनि, अहिले तिमीमाथि हाँस्ने हाप्सिलाहरू हाँस्नु त के तिम्रो वरिपरि आउनसमेत सक्नेछैनन् ।