काठमाडौंबाट हेटौँडा जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । म.प्र.०३–००१ ज ०७२० नम्बरको इभी माइक्रो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २, सुकौरामा दुर्घटना भएको हो।
दुर्घटनामा अन्य तीनजना गम्भीर र एकजना सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार माइक्रो सडकबाट करिब पाँच सय मिटर तल खसेको छ ।
दुर्घटनामा चालकसहित ४ जना पुरुषको घटनास्थलमै मृत्यु भएको हो। घाइते हुनेमा २ महिला र २ पुरुष रहेका छन् ।
घाइतेमध्ये २ पुरुष र १ महिलालाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ भने १ जना महिलालाई उपचारका लागि हेटौंडा पठाइएको छ ।
दुर्घटनालगत्तै प्रहरी चौकी खानीखेत मकवानपुरबाट प्रहरी सहायक निरीक्षक, इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा ट्राफिक प्रहरीसहित २१ जनाको टोली घटनास्थलमा उद्दार कार्यमा खटिएको थियो ।
उक्त यात्रुबाहक ईभी गाडीमा चालकसहित ८ जना सवार रहेको प्रहरीले जनाएको छ।