डेभिड वार्नरले काठमाडाैं बाट खेल्ने

मंगलबार, ३० भदौ, २०८३
डिजिटल संस्करण

डेभिड वार्नरले काठमाडाैं गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन्। अस्ट्रेलियाका असाधारण ब्याटर वार्नर काठमान्डु गोर्खाजबाट तेस्रो सिजनको एनपिएल खेल्न दसैँपछि नेपाल आउनेछन्।

एनपिएल खेल्न आउने विदेशी खेलाडीमा उनी अहिलेसम्मका सबैभन्दा ठुला नाम हुन्। अस्ट्रेलियाले २०१५ र २०२३ मा एकदिवसीय विश्वकप र २०२१ मा टी–२० विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाडी थिए। २०२१ को टी–२० विश्वकपमा उनी ‘प्लेयर अफ द सिरिज’मा चुनिएका थिए।

‘डेभिड वार्नरलाई एकै रातको प्रयासमा ल्याइएको होइन, यसका लागि महिनौँसम्म छलफलहरू भएका थिए र यसमा सहभागी सबैको कुरा–चित्त, धैर्यता र विश्वास गराउन महिनौँ लाग्यो। तर, उनी स्तरको खेलाडीले काठमाडाैंको प्रतिनिधित्व गर्ने र टियू मैदानमा खेल्ने सम्भावनाले हरेक प्रयासको मूल्य बनायो,’ काठमाडाैं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले भने।

वार्नरले अस्ट्रेलियाबाट ११२ टेस्ट, १६१ एकदिवसीय अन्तर्राष्ट्रिय र ११० टी–२० अन्तर्राष्ट्रिय खेल्दै ४९ सतकसहित झन्डै १९ हजार अन्तर्राष्ट्रिय रन बनाएका छन्। वार्नरले १४२ माथिको स्ट्राइक रेटमा तीन हजार २७७ रन बनाएका थिए।

उनको नाममा आठ हजार ७८६ टेस्ट र ६ हजार ९३२ एकदिवसीय अन्तर्राष्ट्रिय रन रहेको छ। वार्नरले पछिल्लोपटक अस्ट्रेलियाबाट सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकपमा खेलेका थिए। उनले २०१९ मा पाकिस्तानविरुद्ध एडिलेडमा आउट नभई ३३५ रन बनाएका थिए।

अस्ट्रेलियाली खेलाडीहरूको टेस्ट क्रिकेटमा यो दोस्रो उच्च स्कोर हो। ३९ वर्षे वार्नरले आफूलाई विश्वको उत्कृष्ट ओपनरको रूपमा आफूलाई उभ्याएका थिए। वार्नरले सबैखाले टी–२० मा ४३९ खेल खेल्दै १४० माथिको स्ट्राइकर रेटमा १४ हजारभन्दा बढी रन बनाएका छन्।

इन्डियन प्रिमियर लिग (आइपिएल)मा उनलाई तत्कालीन दिल्ली डेयर डेभिल्सले सन् २००९ मा लिएको थियो र २०१३ मा उनी दिल्लीमै रहे। २०१४ मा उनी सनराइजर्स हैदराबाद लागे र २०१५ मा कप्तान बने। २०१६ सनराइजर्स हैदराबादलाई आइपिएल च्याम्पियन बनाएका थिए। उनले आइपिएलको सात सिजनमा पाँच सयभन्दा बढी रन बनाए। २०१५, २०१७ र २०१९ मा उनी आइपिएलको सर्वाधिक रनकर्ता थिए। उनले सनराइजर्स हैदराबादबाट आइपिएलमा २०२१ सम्म खेले। २०२२ मा वार्नरलाई पुनः दिल्ली क्यापिटल्सले लिएको थियो।

काठमाडाैं गोर्खाजले यसअघि नै श्रीलंकाका अलराउन्डर सहन अराचचिगे र भारतका पूर्वविकेटकिपर केएस भरतलाई अनुबन्धन गरिसकेको छ।

सुझावित समाचार