गौरीगंगा नगरपालिका– २, झिलस्थित पूर्व–पश्चिम राजमार्गमा मिनीट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार मंगलबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से.१क १३५२ नम्बरको मिनीट्रकले पैदल हिँडिरहेका स्थानीय भरत देउवाका पाँच वर्षीय छोरा लेखराज देउवालाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका लेखराजको टाउको र छातीमा चोट लागेको थियो। उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान ९ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मिनीट्रकका चालक कैलालीको लम्कीचुहा नगरपालिका– २ निवासी २९ वर्षीय सुनील चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।