बौद्धनाथमा अखण्डदीप निरन्तर बलिरहेको छ : अध्यक्ष लामा

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठी व्यवस्थापन समितिले विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा पूजापाठ तथा धार्मिक व्यवस्थापन प्रभावकारी रहेको जनाएको छ। बौद्धनाथमा अखण्डदीप निरन्तर बलिरहेकोसमेत समितिले स्पष्ट पारेको छ।

समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष खड्गजित लामाले यसअघि गुठीको व्यवस्थापन एकलौटी रूपमा हुँदै आएकोमा अहिले व्यवस्थापन समितिमार्फत सामूहिक जिम्मेवारी र निर्णय प्रक्रियाबाट  व्यवस्थापन गर्ने गरिएको जिकिर गरे। बाहिर हल्ला फैलाइएजस्तो अखण्ड दीप ननिभेको प्रस्ट पार्दै उनले धर्म र आस्थासँग जोडिएको विषयमा निराधार हल्ला नफैलाउन आग्रह गरे।

समितिको इतिहास करिब ४५० वर्ष पुरानो रहे पनि गुठियारविना नै व्यक्तिकेन्द्रित रही गुठी सञ्चालन गरिएकाले विगतमा बेथिति देखिएको, तर अहिले व्यवस्थित बन्दै गएको सामाजिक अभियन्ता चन्द्रजित मोक्तानले बताए।

पत्रकार सम्मेलनमा समितिका सदस्य एवं काठमाडौं महानगरपालिका–६ का वडाध्यक्ष भुवन लामाले सयौँ वर्षपछि समिति जनताको हातमा आएको बताए। ‘विगतमा आय–व्यय थाहै नहुने भए पनि अहिले सार्वजनिक गर्ने गरिएको छ,’ उनले भने, ‘अमुक व्यक्तिको अधीनमा रहेको समितिमा पहिलोपटक स्थानीयले अपनत्व पाएका छन्।’

समितिले बौद्धनाथको परम्परागत धर्म, संस्कृति र दैनिक पूजापाठलाई निरन्तरता दिनुका साथै, गुठीको स्वामित्वमा रहेका चल–अचल सम्पत्तिको अधिकतम परिचालन, संरक्षण र संवर्द्धन गरिएको जनाएको छ।

खड्गजित लामाको अध्यक्षतामा गुठीमा नाै सदस्यीय व्यवस्थापन समिति छ। गुठी संस्थान ऐन, २०३३ को दफा १६ र १७ तथा गुठी देवस्थल व्यवस्थापन समिति गठनसम्बन्धी निर्देशिका, २०८१ को प्रावधानबमोजिम यसै वर्ष यो समिति गठन भएको हो।

समितिको सचिवमा टासी लामा र कोषाध्यक्षमा शैलेन्द्र लामा छन्। त्यसैगरी सदस्यहरूमा किशोर लामा, निर्मला लामा र पदेन सदस्यहरूमा गुठी संस्थान शाखा कार्यालय काठमाडौंका प्रतिनिधि, काठमाडौं महानगरपालिका– ६ का प्रतिनिधि, पुजारी लामा श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठी र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रतिनिधि रहेका छन्।

सुझावित समाचार