सुदूरपश्चिममा विद्युत् प्राधिकरणको विद्युत् महसुलको बक्यौता ५२ करोड नाघेको छ । विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरियाका अनुसार प्रदेशका १२ मध्ये नौवटा वितरण केन्द्रको गत आव ०८२/८३ सम्मको बक्यौता ५२ करोड २३ लाख ६५ हजार रुपैयाँ छ । साउनयता पनि बक्यौता थपिएको प्राधिकरणले जनाएको छ ।
प्रादेशिक कार्यालयका अनुसार अछाम, बाजुरा र दार्चुला वितरण केन्द्रअन्तर्गत केही ग्राहकले अग्रिम महसुल भुक्तानी गरेकाले बक्यौता रकम यकिन छैन । घरायसी प्रयोजन, औद्योगिक, व्यवसायिक, सिँचाइ, सहरी क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट, सेवामूलक सार्वजनिक निकाय, मठमन्दिर, गुम्बा, सामुदायिक खानेपानी आदिको बक्यौता रहेको हो । बक्यौताको सबैभन्दा ठुलो हिस्सा सहरी क्षेत्रमा जडान गरिएका सडकबत्ती तथा घरायसी प्रयोजन, उद्योग र व्यापारिक फर्महरूको छ । धेरैजसो बक्यौता वर्षौँदेखिको रहेको प्रदेश कार्यालयले जनाएको छ ।
असार मसान्तसम्मको विवरणअनुसार कञ्चनपुरको महेन्द्रनगर वितरण केन्द्रअन्तर्गत मात्रै २२ करोड ७० लाख ९९ हजार बक्यौता उठ्न बाँकी छ । कैलालीको धनगढी वितरण केन्द्रको बक्यौता १५ करोड ४९ लाख ९४ हजार छ । धनगढीको बक्यौता बढेर साउन मसान्तसम्म १८ करोड ६३ लाख पुगेको छ । प्रदेश कार्यालय अत्तरियाका सहायक निर्देशक यमकर्ण बस्नेतले साउनयता पनि बस्यौता थप हुँदै गएको बताए । बक्यौतामध्ये धेरैजसो रकम उठ्ने सम्भावना कम रहेको प्राधिकरणको आकलन छ ।
कैलालीको टीकापुर वितरण केन्द्रको बक्यौता ६ करोड ७६ लाख, भजनी वितरण केन्द्रको एक करोड ७० लाख र कञ्चनपुरको बेलौरी वितरण केन्द्रको बक्यौता दुई करोड ६२ लाख रहेको बस्नेतले जानकारी दिए । त्यस्तै, डडेलधुरा वितरण केन्द्रको एक करोड ११ लाख, डोटी वितरण केन्द्रको ९४ लाख, बैतडी वितरण केन्द्रको ६२ लाख र बझाङ वितरण केन्द्रको २६ लाख महसुल बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।
सडकबत्तीको बक्यौता धेरै
तराईका वितरण केन्द्रमा उठ्न बाँकी महसुलको ठुलो हिस्सा सहरी क्षेत्रमा जडान गरिएको स्मार्ट स्ट्रिट लाइटको रहेको छ । महेन्द्रनगर वितरण केन्द्रअन्तर्गत स्मार्ट स्ट्रिट लाइटको बक्यौता ११ करोड ७३ लाख, धनगढी वितरण केन्द्रअन्तर्गत सात करोड ४४ लाख र टीकापुर वितरण केन्द्रअन्तर्गत चार करोड ६३ लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणको तथ्यांक छ ।
औद्योगिक क्षेत्रको उठ्न बाँकी महसुल महेन्द्रनगर वितरण केन्द्रअन्तर्गत दुई करोड ७१ लाख र धनगढी वितरण केन्द्रअन्तर्गत एक करोड ८३ लाख रुपैयाँ छ । पसललगायत व्यापारिक फर्महरूको बक्यौता धनगढी वितरण केन्द्रअन्तर्गत एक करोड १९ लाख ८० हजार, महेन्द्रनगर वितरण केन्द्रअन्तर्गत एक करोड १४ लाख ६२ हजार र भजनी वितरण केन्द्रअन्तर्गत ४८ लाख ८१ हजार बक्यौता छ ।
गत आर्थिक वर्षमा मात्र प्राधिकरणले प्रदेशभरि आठ हजार चार सय २० ग्राहकको लाइन काटेको थियो । लाइन काटेपछि आठ हजार ५१ ग्राहकबाट १४ करोड पाँच लाख रुपैयाँ असुल भएको बस्नेतले जानकारी दिए । सुदूरपश्चिममा प्राधिकरणका करिब चार लाख २६ हजार ग्राहक छन् । प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख हरिप्रसाद पाण्डेयले बिजुलीको बक्यौता उठाउन ताकेता गर्ने र लाइन काट्ने गरिएको बताए । उनले बक्यौताको ठुलो हिस्सा स्मार्ट स्ट्रिट लाइटको रहेकाले त्यस्तो बक्यौता असुली सरकारको निर्णयमा भर पर्ने बताए ।