गुल्मीको मदाने गाउँपालिकामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पाँच पैदलयात्रीसहित सातजना घाइते भएका छन्।
मदाने–४, नातिनडाँडास्थित बाझकटेरीबाट पुर्कोट दहतर्फ आउँदै गरेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ बाटोमा हिँडिरहेका पाँच पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलचालक, पछाडि सवार र पाँचै पैदलयात्रीसहित सातजना घाइते भएका छन्।
मोटरसाइकल मदाने गाउँपालिका–४ धारापानी बस्ने अन्दाजी १७ वर्षीय खुमबहादुर सुनारले चलाएका थिए। घाइतेहरूलाई उपचारका लागि स्थानीय मेडिकल पुर्कोटदहमा लगिएको छ।
घाइते हुनेमा चालक सुनार र मोटरसाइकलपछाडि सवार सोही स्थानका २० वर्षीय माधव सुनार तथा पैदलयात्रीहरू मदाने–२, पञ्चपोखरीकी २६ वर्षीया लक्ष्मी विक, बाझकटेरी नेटाकी ३५ वर्षीया कविता भुसाल, भुसालकी छोरी ९ वर्षीया अर्चना भुसाल, सोही स्थानकी ४० वर्षीया कमला विक र एक वर्षीया सबिना विक रहेका छन्।
मोटरसाइकल नियन्त्रणमा रहेको र चालकको उपचार भइरहेको प्रहरीले जनाएको छ।